साउन, काठमाडौं । स्कुलबाट फर्किनेबित्तिकै पलङमा झोला फालेर फुटसल खेल्न हिंडेका थिए १२ वर्षीय विधान आलेमगर । रानीबारी नजिकैको तिलिङटार बस्तीका उनलाई आइतबार त्यसैको छेउ हुँदै बग्ने सामाखुशी खोलाले सडकबाटै बगाएर छिनभरमै बेपत्ता पारिदियो ।
राजधानी काठमाडौंको चक्रपथभित्र सुविधासम्पन्न बस्तीनेर शान्तसँग बहने सामाखुसी खोलामा विधान बेपत्ता होलान् भनेर उनका बुवा मनोजले चिताएका पनि थिएनन् । एउटै सन्तान विधानलाई दोहोरी रेस्टुरेन्ट चलाउँदै हुर्काइरहेका थिए मनोजले । पत्नी अर्थात् विधानकी आमा यतिबेला रोजगारीका लागि पोर्चुगलमा छिन् । जति–जति समय घर्किंदैछ, बाढीमा बगेको एउटै मात्र सन्तान सकुशल नफर्केला कि भन्ने संशयले मनोज झन् बढी आत्तिइरहेका छन् ।
नसोचेको बाढीले नसोचेको पीडा थप्दै लगेको छ सामाखुसी किनारको यो घरमा ।
सामाखुसीको खोलाले विधानलाई सँगै कहाँसम्म पुर्यायो होला भन्ने चिन्ता तिलिङटार र रानीबारीका हरेकजसो घरमा छ । प्रत्येकजसो पसल, चोक र गल्लीमा भइरहेका संवादले विधानलाई सकुशल देख्न चाहने धेरै भएको स्पष्ट गर्थ्यो ।