झापामा जेठ महिनायता पानी डुबेर मात्रै १० जनाको ज्यान गएको छ । झापाको विभिन्न स्थानमा प्रहरीले पानीमा डुबेर ज्यान गएको अवस्थामा १० जनाको शव फेला पारेको जनाएको हो ।
प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं १० का मनबहादुर राईकी छोरी अन्दाजी २६ वर्षीया कमला राईलाई गाईबस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको थियो ।
यस्तै, इलाम माई नगरपालिका वडा नं ८ मा रहेको सतासी झर्नाको दहमा साथीसँग घुम्न भन्दै गएका झापा कमल गाउँपालिका वडा नं ५ पाडाजुँगी बस्ने टेकबहादुर भण्डारीको छोरा वर्ष २१ को निश्चल भण्डारीलाई पौडी खेल्ने क्रममा माथिबाट डाइभ हान्दा पानीमा डुबी मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
यस्तै, शिवसताक्षी नगरपालिका वडा नं १० मा रहेको दोमुखा ड्याममा कनकाई नगरपालिका वडा नं २ का दुर्गा गुरागाईँको छोरा १८ वर्षीय सलिन गुरागाईँ पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो । यस्तै, भद्रपुर नगरपालिका वडा नं ९ शान्ति चौक बस्ने ७५ वर्षीय जीवन थापामगर मेची क्याम्पस भद्रपुरको पूर्व पट्टी जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेको थिए ।
यसैगरी, बिर्तामोड नगरपालिका वडा नं ६ का नेत्र मैनालीको छोरा १९ वर्षीय अनिल मैनाली देउनियाँ खोला एरियामा च्याउ टिप्न गएको बेला उक्त खोला तर्ने क्रममा चप्पल बगाएकोले चप्पल टिप्ने क्रममा खोलाले बगाई मृत्यु भएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
यस्तै, गौरादह नगरपालिका वडा नं ६ का टगुवास्थित रतुवा खोलामा ६५ वर्षीय भागवत शर्मा घोप्टो परी मृत अवस्थामा फेला परेको थिए । सोही नगरपालिका वडा नं ९ को किस्ने खोलामा वडा नं २ का आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरियाको पनि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।
गौरीगञ्ज गाउँपालिका वडा नं ३ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षीय सागर पराजुली सोही ठाउँमा रहेको लेरा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयहरुले देखी तत्काल पानीबाट निकाली उपचारको लागि दमक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
झापा गाउँपालिका वडा नं ४ ग्रामथानमा रहेको नेपाल भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा वडा नं १ का गौतमकुमार गणेशको छोरा ७ वर्षीय डेनिस गणेश खेल्ने क्रममा चिप्लेर पानीमा डुबी घाइते भइ उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको र अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए
यस्तै, बाह्रदशी गाउँपालिका वडा नं. १ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाई ल्याएको जस्तो देखिने, साडी बेरिएको तत्काल नाम थर वतन नखुलेको पहिचान गर्न नसकिने लास सडेगलेको अवस्थामा फेला परेकोले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लास पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको झापा प्रहरीले जनाएको छ ।