हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु, श्रीमती भागेर जोगिइ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनालझोडा सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्ध दम्पतीलाई मंगलबार जंगली हात्तीले आक्रमण गरेको छ ।

हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । श्रीमती भागेर बाँचेकी छन् । मोरङ प्रहरीका अनुसार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–१० का ७३ वर्षीय जयप्रसाद बास्तोलाको मृत्यु भएको हो ।

श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगलमा गएका बेला जयप्रसादलाई बिहान ८ बजेतिर हात्तीले आक्रमण गरेको थियो । घाँस काट्ने क्रममा अचानक जंगली हात्ती देखा परेपछि वृद्ध दम्पतीले भाग्ने प्रयास गरेका थिए । तर जयसप्रसाद भाग्न नसकि त्यहीँ लडेका थिए ।

श्रीमती जानुकाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । जंगलबाट आत्तिदै भागेर गाउँ पुगेपछि हारगुहार गरी उनले गाउँलेलाई घटनाको जानकारी दिएकी थिइन् । त्यसलगत्तै स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ गएका थिए ।

स्थानीयले खोजी गर्ने क्रममा दिउँसो १ बजेतिर मुनालझोडा सामुदायिक वनभित्रै शव भेटिएको हो । शव फेला पारेपछि जंगलमा पुगेकाहरुले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् ।

जयप्रसादलाई मारेपछि हात्ती त्यहाँबाट अन्यत्र गएको हुन सक्ने अनुमान गरिएको छ । मृत फेला परेका जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोट पटक छ । घटनाको अनुसन्धान भइरहेको छ ।

Post a Comment

Previous Post Next Post