खुसी साट्न भेला भएका आफन्त शोकमा डुबे

महोत्तरी गाउँपालिका-२ गम्हरियामा सञ्जीव साहको घरमा बिहेको रमझम नाचगान, बाजागाजा सहित भोजभतेर चलिरहेको थियो ।

मैथिली परम्पराअनुसार साँझ घरबाट विधिविधान अनुसार दिउँसोसम्म सबै रीतिरिवाज पूरा गरी दुल्हासहित जन्तीको टोली लिएर बेहुली लिन घरबाट ईटहरीको खनारचोक प्रस्थान गर्‍यो ।दुलाहा र जन्ती टोली कार, जिप र भ्यानसहित दर्जनभन्दा बढी गाडीमा गए ।

स्वयम्वर सकिएपछि घर टाढा रहेको भन्दै ७ वटा गाडीमा अट्ने जन्तीहरु घरतर्फ फर्किए । अरु विवाह सकिएपछि फर्किने भन्दै विवाहमै सरिक भए ।घर फर्किएको मध्ये महिला र बालबालिका चढेको एउटा भ्यान शनिबार बिहानै साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा पर्‍यो ।

जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको भ्यान र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै ५ जनाको मृत्यु भयो । ९ जना घाइते भए । जसमा ४ जना बेहुलाका आफन्त र गाडी चालक छन् ।

घटनाले सञ्जीव साहको घरमा बेहुली कुरिरहेका घरका आफन्त, छरछिमेकी तथा गाउँटोल बेहुली भित्र्याउँन नपाउँदै शोकमा डुबेका छन् । बेहुला तथा बेहुलीको परिवारजन शोकमा डुबेको छ । हिजोसम्म नाचगान, बाजागाजासहित भोतभतेर भईरहेको घरमा सन्नाटा मडारिएको छ ।

यो के भयो, कसरी भयो ? ‘कनिया’ दुलही पनि आईसकेको छैन, तर घरमा अकल्पनीय घटना भयो,’ भावविह्वल बेहुलाका काका देवु साहले भने, ‘एक्कैछिन पहिलासम्म कति रमझम थियो, कति खुशीयाली थियो, तर एक्कैछिमा शोकमग्न भयो ।

सञ्जीवको विवाहको अवसरमा एक हजारभन्दा बढीलाई निम्ता गरिएको थियो । खुसी मनाउन आएका आफन्त केहीले ज्यानै गुमाउनुपर्ने अनि अरु शोकमा परे ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post