यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो

सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकार दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ ।

मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला सरकारका यी दुई मन्त्री भने हेलिकोप्टर चढेर सिन्धुपाल्चोक लागेका थिए । तर सर्वोच्चको फैसलापछि हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनीहरुको मन्त्री पद गएको छ ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो र तामाङ दिउँसो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ उडेका थिए । तामाङ सोही क्षेत्रका निवर्तमान सांसद समेत रहेका छन् ।

मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुलाई भेटेर उनीहरुले तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्था गर्ने र बाटो तथा पुल निर्माण थाल्ने आश्वासन दिएका थिए । तर काठमाडौं टेक्न नपाउँदै मन्त्री पद गुमाएका उनीहरुले दिएको आश्वासन केवल आश्वासनमै सिमित हुन पुगेको छ ।

उपप्रधान एवं शहरी विकास मन्त्री महतो र स्वास्थ्यमन्त्री तामाङ गत जेठ २१ गते मन्त्रीमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलासँगै मन्त्री नियुक्त १८ दिनमै उनीहरु बिदा भएका छन् । यी दुई मन्त्रीसँगै २० मन्त्री पदमुक्त भएका छन् भने अब सरकारमा प्रधानमन्त्री ओली बाहेक ४ जनामात्र मन्त्री कायम भएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post