बन्दा गोभीमा हुन्छ मस्तिष्कमा छिर्ने फित्ते जुका ?


अहिले चिसो मौसम सुरु भइसकेको छ । बजारमा हरिया सागसब्जीहरू टन्नै आउन थालिसकेका छन् । काउली, बन्दा गोभीजस्ता तरकारीको मौसम पनि यही हो । बन्दा गोभीको पात काँचै खायो भने यसमा हुने फित्ते जुका (टेप वर्म) मस्तिष्कमा पुग्ने बताइन्छ ।

केहीले त बन्दा गोभीलाई उमाल्दासमेत यसमा भएको जुका मर्दैन पनि भन्ने गरेका छन् । कतिलाई भने यस्तो कुराको अत्तोपत्तो छैन ।मस्तिष्कमा जुका पुगेर उत्पन्न हुने स्थितिलाई मेडिकलको भाषामा न्यूरोसिस्टीसर्कोसिस भनिन्छ । बन्दा गोभी राम्रोसँग पकाएर खाइएन भने यसमा भएको फित्ते जुका शरीरभित्र छिर्न सक्छ अनि यो प्राणघातक साबित हुन सक्छ भनेर केही रिपोर्टहरूले दाबी पनि गरेका छन् ।

यो जुका हामीले बन्दा गोभी खाँदा खेरी पेटमा जाने अनि आन्द्रा भएर रक्तसञ्चारको मद्दतले दिमागसम्म पुग्ने बताइन्छ । यस्तो कुरा तपाईंले सुन्नु भएको थियो कि थिएन ? बन्दा गोभी खाँदा यसमा भएको जुका हाम्रो दिमागमा पुग्ने कुरा सत्य हो त ? के यस्तो जुका प्राणघातक हुन्छन्।

के हो फित्ते जुका ?

फित्ते जुका एक खाले चेप्टो परजीवी किरा हो । चेप्टो हुने भएकोले यसलाई फित्ते जुका भनिएको हो । यसले जनावर वा मनुष्यलाई सङ्क्रमित गर्छ ।

यो आन्द्रामा हुन्छ । आन्द्रामा रहेर यसले मनुष्य वा जीवहरूले खाएको पोषक तत्त्वलाई चुस्छ ।शरीरलाई पर्याप्त पोषक तत्त्व नपुगेर कमजोरी, थकानजस्ता लक्षणहरू देखिन थाल्छ । यस्तो किरा प्रायः मासु खाने जीवहरू बिरालो कुकुर अनि मनुष्यमा पाइन्छ ।

फित्ते जुकाको टाउको आन्द्रामा टाँसिएको हुन्छ । यहीबाट किराले भोजनमा रहेको पोषक तत्त्वलाई सोस्छ । यसले अन्डा पनि पार्छ । मानव वा जीवको दिशामार्फत यो शरीर बाहिर निस्किन्छ । खेतबारीमा बोटमै भएको बेलामा आन्द्रामा फित्ते जुका भएका कुनै जनावरले त्यसमाथि दिशा वा पिसाब गरे भने बन्दा गोभीमा फित्ते जुका वा त्यसको अन्डा टाँसिएर बस्छन् ।यसलाई राम्रोसँग धोएर पखालेर खाइएन भने यो हाम्रो पेटमा जान्छ । अनि शरीरको साथसाथै यी किरा वा अन्डा मस्तिष्कमा समेत पुग्छ ।

के हो न्यूरोसिस्टीसर्कोसिस ?

केही विज्ञहरूका अनुसार सादा पानीले पखालेर मात्रै बन्दा गोभीमा भएको टेपवर्म नष्ट हुन्न । अधकल्चो वा काँचो बन्दा गोभी खाँदा यसमा भएको टेपवर्म पनि हाम्रो शरीरमा जान्छ ।

मस्तिष्कमा टेपवर्म हुनु अर्थात् न्यूरोसिस्टीसर्कोसिस आम समस्या हो भन्छन् डाक्टरहरू । राम्रोसँग नपखालिएको काँचो बन्दा गोभी मात्रै होइन गाजर, राम्ररी नपाकेको सुँगुर वा बङ्गुरको मासु खाँदा फित्ते जुका वा यसको अन्डा शरीरभित्र पुग्छ ।

कसरी सफा गर्ने बन्दा गोभी ?

बन्दा गोभीमा पाइने यी किरालाई सिस्टीसर्कस भनिन्छ । बन्दा गोभी वा गाजरलाई राम्रोसँग उमाल्ने वा पकाउने गर्दा पनि यसको बाहिरी तहमा टाँसिएर बस्ने फित्ते जुका र किराका अन्डा नष्ट गर्न सकिन्छ ।

तरकारी पखाल्दा यसमा नुन वा पोटासियम परम्याग्नेटको पनि प्रयोग गर्न सकिन्छ । केही गरी किरा वा अन्डा मस्तिष्कमा पुग्यो भने पनि यसको उपचार छ । शल्यक्रिया गर्नु पर्दैन । औषधि खाएरै यो समस्या निवारण गर्न सकिन्छ ।

मस्तिष्कमा किरा पुगेको लक्षणहरू के हुन् ?

फित्ते जुका खानाबाट आन्द्रामा पुगेपछि यो आन्द्रालाई छेडेर रक्त नलीसम्ममै पुग्छ अनि रगतबाट मस्तिष्क, कलेजो र आँखा जस्ता अन्य अङ्गमा पुग्छ ।

पेट दुख्ने, बारम्बार दिशा लागिरहने, कमजोर महसुस हुने, बान्ता आउने, रिँगटा लाग्ने, सास फेर्न समस्या हुने जस्ता कयौँ समस्या यसका लक्षण हुन् । यस्ता लक्षण कसैमा तुरुन्तै देखिन्छ भने कसैमा निकै ढिला मात्रै देखिन्छ

Post a Comment

Previous Post Next Post