सामान्य टाउको दुखाइ पनि हुनसक्छ गम्भीर रोगको संकेत


साधारणतया टाउको दुख्ने समस्यालाई हामी बेवास्ता गरिहेका हुन्छौँ। तर टाउको दुख्ने धेरै कारणहरु हुन्छन्। कहिलेकाहीँ सामान्य दुखाइ पनि जटिल हुन सक्छ। कस्तो टाउको दुखाइलाई हामी जटिल मान्न सक्छौँ? कस्तो अवस्थामा अस्पताल जाने? टाउको दुखाइका प्रकारहरुका विषयमा हामीले बीएण्डबी अस्पतालका न्युरो सर्जन तथा अस्पतालका न्युरो विभाग प्रमुख डा. शिखर श्रेष्ठसँग कुराकानी गरेका छौँ :

खासमा किन दुख्छ टाउको?

टाउको दुख्ने हजारौँ कारणहरु छन्। टाउकोभित्र कुनै रोग नै नभएर दैनिकीमा धेरै तनाव हुँदा बेलुकातिर धेरै टाउको दुख्न सक्छ। बालबालिकामा टाउको दुख्ने भनेको आँखा कमजोर भएर हुनसक्छ। नेपालीहरुमा धेरै टाउको दुख्ने अर्को कारण भनेको पिनास पनि हो।

त्यस्तै युवा अवस्थाका धेरैमा टाउको दुख्ने अर्को कारण भनेको माइग्रेन पनि हो। जो निकै व्यापक छ। माइग्रेन वंशाणुगत रोग पनि हो। कुनै निश्चित कुराहरुले टाउको दुखाइलाई बल्झाउँछ।

टाउकोमा मासु पलाउँदा (ब्रेन ट्युमर) पनि टाउको धेरै दुख्ने गर्छ।परिवार नियोजनका साधनहरु प्रयोग गरिरहेका महिलाहरुमा रगत बाक्लो हुने वा दिमागका नसाहरु सुक्दै जाने भएकाले नसाहरु बन्द भएर चाप बढेपछि पनि टाउको दुख्ने हुन्छ।

कहिलेकाहीँ रक्त चाप बढ्यो भने पनि टाउको दुख्छ। यी सबै कारणले गर्दा टाउको दुख्न सक्छ। ओपीडीमा कुनै पनि बिरामी टाउको दुखेर आए भने मुख्य गरेर ज्यान लिने खालको के छ भनेर पत्ता लगाएर उपचार गर्नु पर्ने हुन्छ।

कस्तो खालको टाउको दुखाइलाई ‘ब्रेन ट्युमर’ भन्ने?

टाउकोमा लाग्ने फरकफरक खाले रोगको दुखाइ पनि फरकफरक नै हुन्छ। हामी कहिलेकाहीँ टाउको दुख्यो निको भइहाल्छ भनेर घरमै बसिरहेका हुन्छौं। तर असामान्य तरिकाले टाउको दुखेको छ भने घरमै बस्नु हँुदैन। किनभने त्यो दुखाइ सामान्य रोगको लक्षण नभएर ‘ब्रेन ट्युमर’ पनि हुन सक्छ।ट्युमर मस्तिष्कको जुनसुकै भागबाट पनि हुन सक्छ। साधारण भाषामा भन्दा ट्युमर भनेको मासु पलाउनु हो।

हरेक ट्युमर क्यान्सर नै हुन्छ भन्ने हुँदैन। हरेक ट्युमर घातक नै हुन्छ भन्ने पनि छैन। मस्तिष्कमा पलाएको मासु यदि नराम्रो दर्जाको छैन र त्यसलाई शल्यक्रिया गरेर समयमा निकाल्न सकियो भने बिरामीलाई बचाउन सक्छौँ।

मैले चारपाँच वर्षको बच्चादेखि ८० वर्षको बुबाको मस्तिष्कको ट्युमर पनि निकालेको छु। उहाँहरु अहिले निकै स्वस्थ हुनुहुन्छ। ट्युमर भयो भन्दैमा आत्तिहाल्नु पर्दैन।

त्यस्तै मस्तिष्कको जुन भागमा ट्युमर छ त्यही भाग मात्र धेरै दुख्ने हुन्छ। ‘ब्रेन ट्युमर’ हुँदा साधारणतया धेरैजसो बिहान उठ्दा टाउको झुम्म भएर दुख्छ। ‘ब्रेन ट्युमर’ हुँदा धेरैजसो बिरामीलाई निकै बान्ता हुन्छ।

ट्युमर पलाएको भागमा शरीरका जुन अंग चलाउने नसाहरु जोडिएका छन्, ती अंगहरु वा भाग कमजोर हुँदै र प्यारालाइसिस हुँदै जान्छ।त्यस्तै ‘ब्रेन ट्युमर’ हुँदा टाउको दुखाइका साथै क्षारे रोग जस्तो अचेत हुने, हिँड्न र बोल्न पनि गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन्।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post