बाँदरको आक्रमणबाट एक जना महिला घाइते

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन् । भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका ४ पीपलकोटकी ५० बर्षीया मीना भट्ट घाइते भएकी हुन् । उनको टाउकोमा छ वटा टाँका लगाइको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका –४, पीपलकोटकी ५० वर्षीय मीना भट्ट सोमबार भान्सा कोठामा खाना पकाइरहेका बेला बाँदरले आक्रमण गरेको हो।बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताए। उनले भने, “बाँदरले टोक्दा भाउजूको टाउकोमा गहिरो चोट लागेको छ ।

स्थानीय पीपलकोट स्वास्थ्य चौकीमा उहाँको प्राथमिक उपचार गरिएको छ। रेबिजविरुद्धको सुई लगाउन र थप उपचारका लागि जिल्ला अस्पताल जाने तयारीमा छौंं ।”मानव बस्तीमा बाँदरले आतङ्क मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार –४, का स्थानीय त्रसित बनेका छन् ।

दोगडाकेदार गाउँपालिकासँगै जोडिएको बैतडीको दशरथचन्द नगरपालिकाका स्थानीयवासी पनि बाँदरका कारण पीडित बनेको बताएका छन् ।दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताए।

भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ ।

बाँदर नियन्त्रणका लागि स्थानीय तहको सरकारसँग पटक–पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि वडा कार्यालयमा तालाबन्दी गरेर प्रशासन कार्यालयमा धर्ना दिए पनि बाँदर नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यान नगएको स्थानीयको गुनासो छ।

बाँदरका कारण दशरथचन्द नगरपालिकाका धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, आइत, भटाला, झाका, बुड्डा, खडेनी लगायत गाउँबाट सयौँ परिवार विस्थापित भएका छन्। 

बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरा समेत बाँदरले खोसेर खान थालेपछि दशरथ चन्द नगरपालिका– ८, धौल्याली गाउँका टेकराम टमटा, चन्द्री टमटा र शिवराम टमटाको पुरै परिवार भारत पलायन भएपछि उहाँको घर सुनसान बनेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post