मोरङ-गएको वर्ष मोरङमा सवारी दुर्घटनाबाट एक सय २९ जनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार दुई सय ८५ विभिन्न सवारी दुर्घटनाबाट उक्त मृत्यु भएको हो ।
उक्त दुर्घटनामा तीन सय ५३ जना गम्भीर घाइते र एक हजार छ सय ५४ जना घाइत भएका थिए ।आव २०७७÷७८ मा विभिन्न एक हजार एक सय ६२ वटा सवारी दुर्घटनाबाट एक सय ४२ जनाको मृत्यु हुनुका साथै तीन सय ४९ जना गम्भीर घाइते र एक हजार चार सय २० जना घाइते भएका थिए ।
आव २०७६÷७७ मा चार सय ८७ वटा सवारी दुर्घटनाबाट ८९ जनाको मृत्यु हुनुका साथै दुई सय सात जना गम्भीर घाइते र पाँच सय २३ जना घाइते भएको ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।
कार्यालयले आव २०७८÷८९ मा ७१ हजार पाँच सय १७ सवारी साधनलाई कारवाही गरी रु चार करोड ५७ लाख एक हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७÷७८ मा ७० हजार एक सय २९ सवारी साधनलाई कारवाही गरी रु चार करोड २० लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ।
भने आव २०७६÷७७ मा ५४ हजार दुई सय नौ सवारी साधनलाई कारवाही गरी रु तीन करोड १९ लाख ९५ हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । कार्यालयका अनुसार आव २०७८÷७९ मा पाँच हजार तीन सय ९९ वटा कार्यक्रमबाट एक लाख ३३ हजार छ सय पाँच जना, छ सय ७७ पटक विद्यालयमा गरिएको कार्यक्रमबाट १९ हजार पाँच जना विद्यार्थी लाभान्वित भएका छन् ।