पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, १ जना घाइते !

रामेछापको खाँडादेवी गाउँपालिका-३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मारिनेमा स्थानीय अन्दाजी ५५ वर्षीया बिबी माझी छिन् । उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् ।

प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् । सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान गर्न प्रहरी सोमबार घटनास्थल गएको छ ।

माझी समुदायको सोह्रश्राद्ध सबैभन्दा ठूलो चाडपर्व हो । उक्त पर्वमा माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा उनीहरुको विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । 

कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्छन् र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाउँछन् ।

नदीमा पितृ बगाएपछि सोह्रश्राद्ध सकिन्छ ।यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरु त्यसपछि काम्न छोड्छन् । तर यो वर्ष काम्ने प्रक्रिया रोकिएन । शनिबार सोह्रश्राद्ध सकेका माझी समुदायका केही युवा युवतीहरु पितृ बगाउँदा अर्थात् तिथि सकिँदा पनि काम्न नछोडेपछि माझीहरुको निष्कर्ष रह्यो– यो वर्ष पितृ खुसी भएनन् ।

त्यसपछि गाउँकी बिबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्नेसहितका युवा युवतीहरु उनको घरमा पुगे । बिबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै बिबीलाई बोक्सीको आरोप लगाउँदै आएका थिए ।

काम्दै पुगेका युवायुवतीले बिबीकै कारण पितृ खुसी नभएको भन्दै उनलाई कुटपिट गर्न थाले । अक्षताले हान्दै कुटपिट गरे । त्यही बेलामा एउटा बिरालो आइपुग्यो । माझीहरुले बिरालोलाई पनि काटे । बिरालो काटे पछि पोलियो । उता बिवी पनि मरिन् । बोक्सी बिरालोमा उत्रिएको र बिरालो काटेपछि विबि मरेको निष्कर्ष त्यसबेला उनीहरुले निकाले ।

छोरी मरेपछि आमालाई घरअघिको आँगनमा निकालियो । घर वरीपरी कोही आउन दिइएन । घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खबर गरियो । सुरुमा प्रहरीले पनि सकेन ।

दोस्रो प्रयासमा सादा पोसाकमा हतियारसहित पुगेको प्रहरीले सुनमायालाई उद्धार गर्‍यो । घटनास्थलबाटै १८ जना नियन्त्रणमा लियो । सोमबार थप ४ जना नियन्त्रणमा लिई जिल्ला सदरमुकाम पुर्‍याइयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post