
सल्यानमा गएराति भएको डबल क्याप जीप दुर्घटनामा परि आठ जनाको मृत्यु भएको छ। मृतक सबै जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ६ जलवाङका स्थानीय हुन्।
बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जलवाङतर्फ जाँदै गरेको रा १ ज ५६३ नम्वरको जीप गएराति करिब १ बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा दुर्घटना भएको थियो।
९ जना सवार जिपमा ३५ वर्षीय तिलक वली मात्र घाइते भएका छन्। बाँकी सबैको ज्यान गएको छ।दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत वलीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरू सबै एउटा गाउँका हुन्। जसमा ४५ बर्षीय टोपबहादुर
वली, उनका ११ वर्षीय छोरा वसन्त वली, ४० बर्षीय ललित वली, ४५ वर्षीया कुमारी वली, ४५ बर्षीय धर्म वली, २७ वर्षीय सुरेश केसी र चालक २२ वर्षीय जीतबहादुर बोहरा छन्।यस्तै ७० वर्षिय स्थानीय खुमलाल वलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
घाइते वलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको सेतोपाटीलाई बताए। ‘मैले त गाडी खसेपछि मात्रै थाहाँ पाएँ,’ उनले भने, ‘गाडीमा हामी सबै निदाएका थियौं। सायद चालक पनि निदाए पछि गाडी दुर्घटना भयो।’