
चितवन - चितवनमा जन्मिँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल भएकाे छ । चिकित्सकहरुका अनुसार याे जन्मिँदै एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्या हो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयङ्कराज कर्णसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।
शिशुको नाइटोको भाग नबनेको र त्यही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रा समेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गरेको बताउँदै डा. गिरीले सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ भएको जानकारी दिनुभयो ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनु भएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रेफर गरिएको थियो।
अस्पताल भर्ना भएको चार दिनपछि गएकाे असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । शिशुको मांसपेशी पूर्ण रुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटकभित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नु परेको डा. गिरीले बताउनुभयो ।
नवजात शिशुदेखि १४ वर्षमुनिका बालबालिकाको शल्यक्रिया संवेदनशील हुनेगर्छ । त्यसैले यस्ता बालबालिकाको शल्यक्रिया पेडियाट्रिक सर्जनबाटै गराउनु उत्तम हुने चिकित्सकहरु बताउँछन् ।