
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
मेला सकेर घर फर्कने क्रममा हिजो लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।नुवाकोट ककनी गाउँपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका–११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जीव दुवाडीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको टोलीले उनीहरुलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको स्वास्थ्यमा सुधार आएको र पछि आफन्तको जिम्मा लगाएर पठाइएको थियो ।
जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ रसुवाको गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् ।जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामी भएका थिए ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार यसवर्ष झण्डै १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी गन्तव्यतर्फ फर्किन थालेका हुन्