करेन्ट लागेर पाँच जनाको मृत्यु

सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ ।

उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ ।सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् ।

टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।

करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् ।

कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो ।

Post a Comment

Previous Post Next Post