दोलखा । कुनै समय हराभरा रहेको दोलखाको कालिञ्चोक गाउँपालिका–५ को लापिलाङ्ग बस्ती अहिले रानीवन पहिरोले उजाडिएको छ । पहिरोको कारण करिब २ सय घरधुरी विस्थापित भइसकेका छन् ।
बाँकी पनि अनिश्चित भविष्यसँगै दिन काट्न वाध्य छन् । उनीहरुको दैनिकी डरत्रासमै बित्ने गरेको छ ।केही वर्षदेखि सो गाउँमा पहिरोले दुःख दिन थालेपछि स्थानीय आफ्नो थाँतथलो छाडेर सुरक्षित स्थानतर्फ बसाँइसराइँ गरेर जान थालेका हुन् ।
अहिले पनि सो क्षेत्रमा दैनिक जसो सानो ठुलो पहिरो जाने गरेको छ । पहिरो गर्दा बसाँइ सरेर जानेको संख्या वर्षेनी बढिरहेको छ ।बसाँइ सरेर जानेले गर्दा गाउँ सुनसान बन्दै गएको छ । सिंगो गाउँनै बसाइँ सरेर गएपछि त्यहाँ परापूर्व कालदेखि मनाउँदै आएका जात्रा, चाडपर्व र संस्कृतिहरु पनि विस्थापित भएका छन् ।
गाउँमा पहिरो जाने क्रम नरोकिएपछि गाउँमा बस्दै आइरहेकाहरु पनि के गर्ने, के नगर्ने दोसाँधमा छन् । उनीहरु पहिरोले आफ्नो घर बगाएको टुलुटुलु हेरेर बस्न बाध्य छन् । आफ्नो बस्ने बास र खेती गर्ने जमिन बगाएपछि।
अब कसरी जीविका टार्ने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेको छ । भूकम्पले कमजोर बनेको भूधरातलमा पहिरो तथा वर्षासँगै आउने पानीको भेलले कुनबेला पुरिने हो, कुनबेला बगिने भन्ने स्थानीयको पिडा छ ।