१२ वर्षीया बालिकाको फोक्सोमा अड्किएको ‘पेन’को बिर्को यसरी निकालियो

उदयपुरकी १२ वर्षीया रमिलालाई एक साताअघि ज्वरो आउने, सास फेर्न गाह्रो हुने समस्या भयो। उनलाई कुनै रोग लागेको थिएन। न त कुनै चोटपटक नै लागेको थियो।

बवा सबिन विश्वकर्माले सोधपुछ गर्ने क्रममा रमिलाले पेनको पछाडीको बिर्को निलेको बताइन्। रमिला कक्षा सातमा अध्ययन गर्छिन्। बुवा सबिनका अनुसार छोरीले ज्वरो आउनु एक दिनअघि पेनको बिर्को निलेकी थिइन्।

कक्षामा लेख्दै गर्दा छोरीको कलमको मसी सकिएछ। साथीसँग पेनको सुइरो सापटी मागिछन्। पछाडीबाट पेनको बिर्को खोल्नै लाग्दा त्यतिखेर नै सर आउनु भएछ। उसले डरले ला भनेर लामो सास फेर्दा सड्केर मुखभित्र पेनको बिर्को पसेछ,’ बुवा सबिनले भने।

पेनको बिर्को निलेको दिन रमिलालाई त्यति गाह्रो भएन। तर अर्को दिनबाट भने ज्वरो आउन थालेको सबिन बताउँछन्। ज्वरो आउन थालेपछि सबिनले घर नजिकैको क्लिनीकमा छोरीलाई लगे। त्यहाँ ज्वरोको औषधि मात्र दिएर पठाएको उनले बताए।

औषधिले पनि काम नगरेपछि उनीहरुले विभिन्न घरेलु उपाय पनि नअपनाएका होइनन्। तर रमिलाको स्वास्थ्य अवस्था सुध्रनुको साटो झन् बिग्रदै गयो। छोरीलाई गाह्रो हुन थालेपछि उनीहरु धरानको एक अस्पतालमा पुगे। त्यहाँ रमिलाको एक्सरे भयो। एक्सरेमा केही नदेखिएपनि भिडियो एक्सरे गरियो। भिडियो एक्सरेमा भने रमिलाको देब्रे फोक्सोको नलीमा अड्किएको पेनको बिर्को देखियो।

उनलाई तत्काल आइसीयू भर्ना गर्नुपर्ने थियो। तर त्यहाँ आइसीयू नभएकाले विराटनगरको एक अस्पतालमा रिफर गरियो। त्यहाँ पनि रमिलाको भिडियो एक्सरे र अन्य जाँचहरु सबै भयो। तर फोक्सोमा अड्किएको पेनको बिर्को निकाल्ने प्रविधि आफूसँग नभएको भन्दै उनीहरुले पनि काठमाडौं रिफर गरे।

निकै आशा र भरोसा लिएर सबिन छोरी रमिलालाई लिएर त्रिवि शिक्षण अस्पताल पुगे। तर त्यहाँ पनि उपचार भएन। आइसीयू खाली नभएको भन्दै छोरी रमिलालाई त्रिवि शिक्षण अस्पतालले भर्ना लिन मानेन।

मेरो छोरी एकदम सिरियस भइसकेको थिइन्। मैले धेरै आग्रह गरें तर टिचिङ अस्पतालले हामीले यहाँ उपचार गर्न पनि सक्दैनौं, आइसीयू पनि खाली छैन भने’ उनले भने।त्रिवि शिक्षण अस्पतालपछि उनी मेट्रो सिटी अस्पताल पुगे

 त्यहाँ रमिलाको आइसीयूमा भर्ना भयो। चिकित्सकले सबै चेकजाँच गरेपछि वीर अस्पतालमा इण्डोस्कोपी गर्न सुझाव दिए। र, छोरीको उपचारका लागि सबिन अस्पताल धाएको छैठौँ नम्बरमा वीर अस्पताल थियो।छातिरोग विशेषज्ञ डा सुरज गुप्ताले वीर अस्पतालका छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग रमिलाको उपचार बारे छलफल गरेका थिए। डा श्रेष्ठले रमिलाको सबै रिपोर्ट हेरेपछि वीर अस्पतालमा उपचार गर्ने निधो गरे।

अक्सिजन जान नपाएपछि रमिलाको देब्रे फोक्सो वीर अस्पताल पुग्दासम्म पुरै खुम्चिसकेको थियो। डा श्रेष्ठ र अर्का छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाको नेतृत्वमा रमिलाको उपचार सुरु भयो। रमिलाको बिना अपरेशन ब्रोन्कोस्कोपी मार्फत फोक्सोको देब्रे नलीमा अड्किएको पेनको बिर्को निकालिएको डा श्रेष्ठले बताए।

फोक्सोको एउटा मुख्य नली हुन्छ। देब्रे फोक्सो र दाहिने फोक्सोमा जाने अर्को दुई वटा नली हुन्छन्। ती बालिकाको देब्रे फोक्सोको नलीमा पेनको पछाडीको बिर्को अड्किएको थियो’ उनले भने, ‘१२ वर्षीया बालिकाको नली त सानो हुन्छ। त्यसैले सानो बिर्कोले पनि देब्रे फोक्सो पुरै ब्लक भयो। अक्सिजन जान नपाउँदा उनलाई सास फेर्न गाह्रो हुने, ज्वरो आउने भएको थियो।

६ दिनदेखि फोक्सोमा अड्किएको पेनको बिर्को निकाल्न उनीहरुलाई सहज थिएन। तर डा श्रेष्ठ र डा ढुंगानाको नेतृत्वमा खटिएको टिमले ३५ मिनेटमा पेनको बिर्को निकाल्न सफल भए।

उपचारपछि रमिलालाई अक्सिजनको सहायतामा आइसीयूमा राखिएको थियो। हाल उनको खुम्चिएको फोक्सोमा सुधार आएको डा श्रेष्ठले बताए। उनलाई बिहीबार नै वार्डमा सारिएको छ। शनिबारसम्म डिस्चार्ज गर्ने तयारी भएको डा श्रेष्ठले बताए। रमिलाको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार वीर अस्पतालले निःशुल्क गरिदिएको छ।

डा श्रेष्ठ र डा ढुंगानाको नेतृत्वमा भएको उपचारमा छातिरोग विशेषज्ञ डा कमलराज थापा, डा रितम्बरा ओली, डा दिपा श्रेष्ठ, एनेस्थेसिस्ट डा विधुर बराल र डा पुष्पराज पौडेल संग्लन थिए।वीर अस्पतालमा गरिएको यस किसिमको उपचार पहिलो होइन।

यसअघि पनि श्वासनलीमा अड्किएको पिन, हड्डी पनि निकाल्न सफल भएको छ। वीर अस्पतलमा छातिरोग सम्बन्धी सबै किसिमको विशिष्टीकृत उपचार हुने गरेको डा श्रेष्ठ बताउँछन्।हप्ताको तीन दिन हामीले छातिरोग सम्बन्धी विशिष्टीकृत ओपिडी सेवा दिइरहेका छौँ। यहाँ सबै किसिमको उपचार हुन्छ’ उनले भने।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post