खोप लगाएर हल्का रुघाखोकी लागेपछि छिट्टै सुतेकी थिइन् कल्पना, तर बिहान पापीले लगिसकेको रहेछ

खोप लगाएपछि हल्का रुघाखोकी लागेको थियो । बिसन्चो महशुस भएपछि ३५ वर्षीया कल्पना बुढाले शुक्रबार साँझ खाना पनि खाइनन् । रात परेपछि उनी आफ्ना दुई छोरा र एक भदैसहित सुत्ने कोठाभित्र पसिन् ।

जाडो महशुस गरेकी उनले कोठामा तातो होस् भनेर झ्यालढोका नै बन्द गरिन् । अनि तसलामा कोइला बालेर सुतिन् । तर शुक्रबार राती एउटै कोठामा सुतेका चारैजना फेरि ब्यूँझि नै पाएनन् ।वीरेन्द्रनगर–१० बुदबुदीमा रहेको आफ्नै घरमा सुतेका कल्पना, उनका छोराहरु निरज र चिरिञ्जीवी तथा भदा सोमराज शनिबार बेलुकी मृत भेटिए । घरमा कल्पनाका ससुरा वीरबहादुर विसी पनि थिए ।

तर उनी शनिबार बिहानै घरबाट आफ्नो काममा निस्किए । बेलुकी घर आउँदा वीरबहादुरले आफ्ना नातीहरुलाई देखेनन् । घर पनि सुनसान देखे ।नातीहरु नदेखेपछि उनी हतारिँदै बुहारी कल्पना सुत्ने कोठातर्फ गए । तर कोठाको ढोका नै खुलेन । झ्याल पनि बन्द भएपछि उनले आत्तिदै छिमेकीहरु बोलाए । त्यसपछि स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरे ।शुक्रबार रातीको घटना भए पनि आफूहरुले शनिबार बेलुकी मात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विस्टले बताए ।

प्रहरीले ढोका फोडेर हेर्दा कोठामा रहेको खाटमा चारैजना मृत अवस्थामा भेटिएका हुन् । ‘खाटमुनी तसलामा कोइला बालेको भेटियो,’ एसपी विस्टले भने,‘जाडोमा कोठा तताउन कोइला बालेर सुतेका रहेछन्, झ्यालढोका सबै बन्द गरेर सुतेको पाइयो । यसकारण पनि उनीहरुको निसासिएर नै मृत्यु भएको हाम्रो प्रारम्भिक अनुमान छ, तर पनि शवको पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी विषय खुल्नसक्छ ।’ शवको पोष्टमार्टम आइतबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।

मृतक कल्पनाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा रहेको स्वास्थ्य शाखाका प्रमुख हुन् । उनी शनिबार रातीमात्र सुर्खेत आएका कारण आइतबार शवको पोष्टमार्टमा गरिएको प्रहरीले जनाएको छ ।मृतक कल्पनाका ससुरा वीरबहादुरका अनुसार मृतक निरज कक्षा ४, चिरञ्जीवी कक्षा २ र सोमराज कक्षा १ मा अध्ययन गर्थे । उनीहरु स्थानीय डाइनामिक बोर्डिङ स्कुलमा पढ्थे । 

बुहारीले बिसन्चो मानेकी थिइन्, तसलामा कोइला लगेर कोठामा बालेका थिए,’ वीरबहादुरले भने,‘बुहारी सधैं बिहान ढिला उठ्ने भएकाले मैले पनि वास्ता गरिनँ, सुतेकै होलान् भनेर बिहानै निस्किएँ । बेलुकी घर आउँदा नातीहरुलाई वरपर नदेखेपछि खोजी गरेँ, तर उनीहरुलाई पापी दैवले लगिसकेको रहेछ ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post