महान छोरी जसले आफ्नो आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेर आमालाई बचाइन् !

५४ वर्षीया धनमाया तामाङ छोरी ३४ वर्षीया उषालाई सुमसुम्याउँदै थिइन्। दुवै जना एकअर्कालाई हेरेर मुस्कुराउँदै थिए। घरीघरी भावुक पनि हुन्थे।

छोरीको आधा कलेजो आमाको शरीरमा प्रत्यारोपण गरेको चार दिनपछि भेट भएको हो। यसरी भेट हुँदा यी आमाछोरीमा खुसीको कुनै सीमा थिएन।

यी आमाछोरी चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डको सँगै जोडिएको अलग–अलग क्याबिनमा छन्। उषा आमाको अवस्थाबारे स्वास्थ्यकर्मीलाई सोधिरहन्छिन्। आफ्नो आधा कलेजो दिएर आमालाई बचाउन पाएकोमा उषाले गर्व महसुस गरेकी छन्।

होस खुलेदेखि उनलाई आमा हेर्न हतारो थियो। ‘आमालाई केही नहोस् भनेर भगवान्सँग प्रार्थना गरें’, उषाले भनिन्, ‘आमाको लागि कलेजो केही होइन्। मेरो कारणले आमा बाँच्नुभयो त्यसैमा खुसी छु।’धनमायाको पाँच महिनाअघि स्वास्थ्य परीक्षण गर्दा कलेजोले काम गर्न नसक्ने पुष्टि भएपछि परिवारमा खैलाबैला मच्चिएको थियो। कलेजो प्रत्यारोपणको विकल्प थिएन। कलेजो दान गर्ने वचन दिएका आफन्त अनेक बहाना गरेर पन्छिए।

त्यसपछि उषा आफैं अघि सरेकी रहेछन्। ‘दिन्छु भने तर दिने बेला कोही निस्केन अनि आफैं हिम्मत गरेर कसैको सहयोग चाहिँदैन भनेर आँट गरे’, उषाले भनिन्।

सुरुमा के होला भनेर उनलाई डर लाग्यो। तर आमाको अगाडि अरू कुरा सामान्य लाग्यो। बरु आर्थिक अभावका कारण बहिनी गुमाउनुपरेको पीडा बल्झियो। १७ वर्षअघि १६ वर्षीया बहिनीको ब्रेन ट्युमरका कारण निधन भएको थियो। पैसा नभएकै कारण बहिनी बचाउन नसकेकोमा दुखेसो उषालाई। आमाको अवस्थाले त्यही घटनाको सम्झना गरायो। त्यसपछि उनलाई लाग्यो, ‘आमालाई बचाउँछु।

सुरुमा कलेजो दिने भन्ने कुरा सुन्दैमा ज्वरो आयो। मरिन्छ भने पनि ठीकै छ तर आमा बाँच्ने कुराले हिम्मत बढ्यो’, उनले भनिन्, ‘त्यसबेला आमा मात्रै सम्झिएँ।

छोरीको निर्णय सुनेर धनमाया रुन्थिन्। त्यसबेला केही हुँदैन भन्दै उषा आमालाई सम्झाउँथिन्। घरीघरी आमासँगै उषा पनि रुन्थिन्। कलेजो प्रत्यारोपणसँगै दुवै जनाको हाँसो फर्किएको छ। छोरीले पुनर्जीवन दिएको भन्दै धनमायाले खुसी ब्यक्त गरिन्। ‘मलाई छोरीले बचाइन्, अब त बाँचिन्छ होला नि !’, धनमायाले भनिन्, ‘छोरीले नयाँ जीवन दिइन्। खुसी लागेको छ।

धनमायाका श्रीमान् रनबहादुर अस्पतालको क्याबिनबाहिर श्रीमती र छोरीलाई पर्खेर बसेका छन्। श्रीमतीको जीवनकै आस मारेका रनबहादुर बिरामीको स्वास्थ्यमा आएको सुधारले खुसी छन्।

जीवनसंगिनी बाँचेको खुसीले उनी गद्गद् छन। ‘कसरी बचाउने भनेर आसै मारेको हो। छोरीले नै आँट गरेर बचाइन्’, रनबहादुरले भने, ‘मृत्युबाट बचेकी छन् परिवार खुसी छौं।’ उनका एक छोरा र छोरी छन्।

एईको दुबईमा ८ वर्षदेखि ब्युटिसियन काम गर्ने उषा आमाको उपचारको लागि माघमा घर फर्किएकी हुन। विदेशमै रहँदा उनले आमा आईसीयूमा रहेको खबर पाइन्। अब दुई महिनापछि फेरि दुबई जाने उनले बताइन्। अन्नपूर्ण पोस्ट दैनिकमा अनिल ढकालले खबर लेखेका छन् ।[]
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post