उदयपुरकी छोरी जसले छोराले गर्ने हिम्मत गरिन् । समाजमा मृतक बाबुको लाशमा काँध थाम्ने र दागबत्ती दिन छोरा नै चाहिन्छ भन्ने अन्धविस्वास तोड्ने चेलीलाई सलाम । मृत आत्माले शान्ति पाओस् ।
उदयपुर जेठ २४ । हाम्रो देशमा बाबुको निधनपछि अन्तिम संस्कार छोराहरुले गर्ने प्रचलित सामाजिक नियम रहीआएको छ । यही अन्धविस्वासको बेलाबेलामा चर्को बिरोधसमेत हुदै आएको छ । सामाजिक अधिकारकर्मीहरुले यसबारे वकालत समेत गर्दै आएका छन् ।
तर, उदयपुरकी एक छोरी अर्थात भगवती थापाले भने आफ्नो बाबुको अन्तिम संस्कारमा सहभागी जनाएकी छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ५ की भगवतीले आफ्नो बाबुको मृत्युपछि छोराहरुले मात्र दागबत्ती दिनुपर्छ भन्ने रुढीबादलाई परास्त गर्दै चितामाथि आगो सल्काउने हिम्मत गरेकी हुन् ।
‘मरेपछि लाशलाई काँध दिन छोरा नै चाहिन्छ’ भन्ने मानसिकता बोक्नेहरुका लागि यो उदाहरण भएको कटारीकी पत्रकार रेनु पराजुली बताउछिन् । उनले आफ्नो फेसबुक अकान्टमा अपलोड गरेको तस्वीरमा रुढीबादबिरुद्ध सामाजिक क्रान्तिको उदाहरणका रुपमा प्रतिक्रिया दिएका छन् ।
छोरा छन् तर, फर्किएनन् छि मेकी सिर्जना पोखरेल (दाहाल)का अनुसार ‘थापादाई’का नामले चिनीने मृतकका एक छोरा पनि छन् । घरमा दुई छोरीसँगै बाबु गरी तीनजना बस्दै आएका थिए । केही वर्षअघि रोजगारीका लागि भारतको कोइलाखानी गएका छोरो अझैसम्म फर्किएका छैनन् ।
आर्थिक अवस्था दयनीय रहेको थापा परिवारमा बाबुको मृत्युसँगै अभिभावकबिहीनता छाएको छ । कहिल्यै नफर्किने बाटोमा गएका बाबु र फर्किने आशामा दाईको बाटो हेर्दै बहिनीहरुको काँधमा अझ पारिवारिक जिम्मेवारीसमेत थपिएको छ ।