विराटनगरका पाँच अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

मोरङ बेलबारीका एक बिरामीको विराटनगरका ठुला अस्पताल चर्हादा चहार्दै उपचार नपाएर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर लगिएका बेलबारी–२ का ६० वर्षीय रंगलाल दुलालको विराटनगरका पाँचवटा अस्पताल घुमाउँदा घुमाउँदै बुधबार बिहान एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।


विराटनगरका नीजि अस्पतालमा बेडको कुनै समस्या नभएको बताउँदै आएका नोबेल मेडिकल कलेज, विराट टिचिङ, मोरङ सहकारी, विराटनगर अस्पताल र लाइफगार्ड अस्पतालले भन्टिलेटर नभएको भन्दै दुलाललाई गेटबाटै फर्काएपछि उपचार नपाएर उनको मृत्यु भएका एम्बुलेन्स चालक केशव सुवेदीले बताए ।

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका एम्बुलेन्स चालक सुवेदीका अनुसार उनलाई राती १ बजे एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजनको सहायतामा विराटनगर लगिएको थियो । ‘घरमा बसेको उहाँमा एक्कासि स्वास्थ्यमा समस्या आयो’ चालक सुवेदीले भने, ‘तत्काल एम्बुलेन्समा हालेर विराटनगर लगियो ।’ तर विराटनगरका अस्पतालले भेन्टिलेटर नभएको भन्दै भर्ना लिन मानेनन्।’ अवस्था नाजुक भएपछि उनलाई घर ल्याउने क्रममा मृत्यु भएको उनले बताए ।

छिमेकी माधव निरौलाका अनुसार क्रियापुत्री बसेका दुलाललाई घरमा बसिरहेको समयमा राती श्वासप्रश्वासमा समस्या भएको थियो । तत्काल एम्बुलेन्स बोलाएर बिरामीलाई उपचारार्थ विराटनगर पठाएको उनले बताए । तर अस्पतालहरुले गम्भीर अवस्थाको दुलाललाई भेन्टिलेटर नभएको भन्दै भर्ना नलिँदा उपचार अभावमा अकालमा ज्यान गुमाउनुपरेको बताए ।

उनले उपचार नै नपाएर अकालमा मृत्यु भएका दुलालको मृत्युको कारण समेत खुल्न नसकेको बताए । । तर केही दिनअघि दुलाललाई समान्य ज्वरोसगै रुघाखोकी लागेको भन्नेसम्म आफुले सुनेको भएपनि उनको पीसीआर परीक्षण समेत नभएकाले मृत्युको कारण भन्न नसकिएको बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुलालको स्थानीय खोलामा बुधबार धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको छ ।

वडाध्यक्ष घनश्याम गौतमका अनुसार दुलालका बाबुको ११ दिन अघि मृत्यु भएको थियो । उनलाई क्रियापुत्री बसेकै समयमा मंगलबार राती १ बजे श्वास फेर्न समस्या भएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका दुलालको अस्पतालको लापर्वाहीको कारण उपचार नपाएरै मृत्यु भएको उनले बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने अस्पतालले भर्ना नलिएको बारेमा आफुलाई कुनै जानकारी नभएको दाबी गरे । अस्पतालले नै बिरामीको भर्ना नलिएको घटना गम्भीर भएको भन्दै सिडिओ निरौलाले भने, ‘तत्काल यर्थाथ बुझिन्छ, यदि त्यो कुरा सत्य रहेछ भने त्यस्ता अस्पतालहरुलाई कानूनी कारबाही गर्नेछु।’
Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post