कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?


काठमाडौं । हुन त गर्भपतन गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिंदैन । अझ सामाजिक रुपमा त यसलाई राम्रो मान्ने गरेको पाइँदैन । तर कतिपय अवस्थामा पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भ बस्न सक्छ । यस्तो बेला गर्भपतन गर्नुको विकल्प हुँदैन ।

निश्चित समयसम्मको गर्भपतन गर्न पाउने अहिले कानुनी व्यवस्था छ । भक्तपुर कटुञ्जेस्थित स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सन्ध्या न्यौपाने भन्छिन्, ‘स्वास्थ्य क्षेत्रको हिसाबमा गर्भपतन गर्न पाउने व्यवस्था महिलाका लागि एक बरदान नै हो । किनकि गर्भपतन गर्न पाउँदा धेरै महिलालाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।

तर गर्भपतनलाई परिवार नियोजनको विकल्पका रुपमा भने लिन नहुने उनी बताउँछिन् ।गर्भपतनका लागि दुईवटा विधि प्रचलनमा छन् । पहिलो, म्यानुअल भ्याकुम एस्पिरेसन (एमभीए) विधिबाट गरिने गर्भपतन र अर्को औषधिबाट ।

कुन अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

अनिच्छित गर्भ रहन गएमा, गर्भको भ्रूणमा केही समस्या देखिएमा, आमा वा भ्रूणमा शारीरिक वा मानसिक समस्या भएमा, जबरजस्ती करणीबाट गर्भ रहेमा गर्भपतन गर्न सकिन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको मानसिक सन्तुलन ठीक भएमा १८ वर्ष पार गरेकी युवतीले अरु कसैको मञ्जुरी बिना स्वेच्छाले १२ हप्तासम्मको गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ । बच्चाको अवस्था जटिल अवस्था भएमा २८ हप्तासम्मको पनि गर्भपतन गर्न सकिन्छ ।

१२ हप्तासम्म औषधिको प्रयोगले गर्भपतन गर्न सकिन्छ । यसका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र परामर्श लिएर औषधिको सेवन गर्न सकिन्छ । १२ हप्ताभन्दा बढी भएमा परिवारको सल्लाह र अनुमति लिएर मात्र गर्भपतन गर्न सकिन्छ । जुन म्यानुअल भ्याकुम एस्पिरेसन (एमभीए) प्रविधिबाट गरिन्छ ।

१८ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको अवस्थाकी गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट यो औषधि सेवन गर्नु गैरकानुनी मात्र होइन, घातक पनि हुन सक्छ ।

गर्भपतनको औषधि सरकारी स्वास्थ्य संस्था हेल्थपोष्ट, जनस्वास्थ्य केन्द्र र सरकारी अस्पतालमा नि:शुल्क पाइन्छ भने निजी स्वास्थ्य संस्थामा शुल्क तिर्नुपर्छ ।सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्था तथा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गराउन सकिन्छ ।

सुरक्षित गर्भपतनको लोगो र प्रमाणपत्र झुण्ड्याएको निजी क्लिनिकमा पनि गराउन सकिन्छ । तर आफूखुसी यत्तिकै औषधि किनेर सेवन गर्न मिल्दैन । यसले ज्यान समेत जान सक्छ ।तर भ्रूणको लिंग पहिचान गरेर बारम्बार गर्भपतन गर्नु, २८ हप्ता भन्दा बढी कुनै समस्या नभए पनि गर्भपतन गरेमा, गर्भवती महिलाको इच्छाविरुद्ध धाकधम्की दिई गर्भपतन गराएमा यो अपराध ठहरिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post