सञ्जय भण्डारीको बयान- तीन जिल्लाका ९ ठाउँमा मान्छे मारेको छु, अनुसन्धान गर्ने काम प्रहरीको हो


तीनकुने घटनामा अन्तिममा आएकालाई पनि मार्न सकेको भए म फस्दिनथें’तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीले आफूले काठमाडौंमा मात्र नभई काठमाडौं बाहिरका जिल्लामा पनि मानिहरूको हत्या गरेको दाबी गरेका छन्।

शुक्रबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा सञ्जयले काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोकका ९ स्थानमा धारिलो हतियार प्रहार गरी मानिसहरूको हत्या गरेको बताएको उल्लेख छ।

काठमाडौंको रातोपुल, धुम्बराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छु, उनले बयानमा भनेका छन्, 'मैले मारेको मान्छेहरूलाई चिन्दिनँ। सबैलाई धारिलो हतियार प्रयोग गरी मारेको छु। अनुसन्धान गर्ने काम प्रहरीको हो।'


बहिराहरूप्रति गरिने सामाजिक विभेदको कारण आफूले हत्या गरेको सञ्जयले बयानमा बताएका छन्।

उनी पनि जन्मजात बोल्न र सुन्न सक्दैनन्। घटनापछि बयानका लागि दोभाषेका रूपमा प्रहरीले राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केदारप्रसाद अधिकारी र जनक पौडेललाई बोलाएको थियो।

सिन्धुपाल्चोक बाह्रबिसेका सञ्जय घटना भएकै दिन काठमाडौं आएका थिए। उनले घरबाटै खुकुरी झोलामा राखेर ल्याएका थिए।



त्यसदिन कोटेश्वरबाट चाबहिलसम्म बसमा गई त्यहाँबाट भत्केको पुल, गहनापोखरी हुँदै नक्साल पुगेर साथीहरूसँग भेटघाट गरी सिधै तीनकुने पुगेका थिए। त्यहाँ पुग्दा बेलुका ७ बजेको प्रहरीसँगको बयानमा उनले बताएका छन्।

साँझ परेकाले दिव्य स: मिल एण्ड काष्ठ उद्योगको पश्चिम गेट अगाडि खाली रहेका दुई वटा घरमा केहीबेर लुकेर बसेका थिए।


राति भएपछि फलामको डण्डीमा समात्दै गेट चढेर दिव्य सः मिल एण्ड काष्ठ उद्योगको एक कोठे कच्ची टहराको घरमा प्रवेश गरेका थिए। टहरा घरको कोठामा ढोकाको चुकुलमात्र लगाएको चाबी नलगाएको भेटिएपछि उनी सोही कोठामा छिरेर बसेका थिए।

अभियोगपत्रमा उल्लेख भएअनुसार, १५ मिनेटपछि त्यहाँबाट निस्किएर उनी सामुन्नेको टहरा घरको माथिल्को कोठामा गए। कोठामा कोही नदेखेपछि उनी सोफामा केहीबेर बसे।

केही समयपछि बाहिर हेर्दा मान्छे आउँदै गरेको देखे।

‘आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटरसाकल चालक नविन राई रहेछन् चिनिहालें। निज नविन राई म बसेको कोठातर्फ आउन थाले। म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसें,’ बयानमा उनले भनेका छन्।

ढोकामा पुगेपछि नवीन राईले आफूलाई थप्पड हानेको उनले बयान दिएका छन्।

‘त्यसपछि मैले दुबै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रक्ताम्य भई ढले, ढलेपछि पनि मैले टाउकोमा पटक-पटक प्रहार गरें। मर्‍यो भन्ने यकिन भएपछि निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखें,’ बयानमा उल्लेख छ।

त्यसको केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०/५५ वर्ष जतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लागेपछि उनी तुरून्तै तल झरे।

फोनमा कुरा गरिरहेका व्यक्ति कुमार भनिने पूर्णबहादुर भुजेल थिए। सञ्जय तत्काल तल झरे र पछाडिबाट कुमारको टाउकोमा खुकुरी प्रहार गरे।

‘निज एकैचोटिमा ढले, ढलेपश्चात पनि टाउकोमा पटक पटक प्रहार गरें, मरेको यकिन भएपछि निजको दुबै गोडामा समाती घिसारी टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाएँ,’ सञ्जयको बयानमा उल्लेख छ।

कुमारको शव लुकाउन खोज्दा अर्की महिला त्यहाँ आउँदै गरेको उनले देखे। उनी कुमारकी श्रीमती अम्बिका भुजेल थिइन्। अम्बिमा नजिक आउनासाथ सञ्जयले उनीमाथि पनि खुकुरी प्रहार गरे।

पहिलोपटक छेकेकोजस्तो लागेर तत्कालै दोस्रो प्रहार गर्दा ती महिला पनि ढलेकी थिइन्। उनलाई पनि ट्वाइलेटको ढोका सामुन्ने चापाकल छेउमा लुकाएको उनले बताएका छन्।

लगत्तै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुइँतिर हेर्दै आएकी सञ्जयले बयानमा बताएका छन्। ती वृद्धा कुमारकी ७० वर्षीया आमा सुभद्रा भुजेल थिइन्।

‘ती बुढी मान्छेलाई समाती घाँटी रेटी मारें र शवलाई घिसारेर काठहरू राखेको कुनामा लुकाएँ,’ सञ्जयको बयानमा उल्लेख छ।

बयानअनुसार चार जनाको हत्या गरेपछि सञ्जय निकै थाकेका थिए।

त्यसपछि पनि यताउति हेर्दा कोही नदेखिएपछि चापाकलबाट पानी तानेर हातमुख र खुकुरी धोएर शरीरमा लागेको रगत पखालिएको निश्चित भएपछि चुरोट खाएको कोठामा पुगेर २ घन्टा आराम गरेका थिए।

२ घन्टाजति आराम गरेपछि लाइट बलेको र मानिसहरू जम्मा भएको जस्तो लागेपछि उनी गेट नाघेर कोटेश्वरतर्फ भागेका थिए।

उनी सिधै काँडाघारीस्थित दिदी भाडामा बसेको घरमा पुगेका थिए। २ घन्टासम्म गेट नखोलेपछि उनले गेट नाघेर घरको कम्पाउन्ड प्रवेश गरी कोठाको ढोका ढक्ढकाएका थिए। तर त्यहाँ उनका भिनाजुको भाइ बुहारी बस्दा रहेछन्।

उनीहरूले नै फोन गरेर भिनाजुलाई बोलाइदिएको र दिदीको कोठामा पुगेर भात खाएको सञ्जयले बताएका छन्। राति दिदीभिनाजुको कोठामा रहेका उमेश माझीसँग सुतेको पनि उनले बताएका छन्।

सञ्जयलाई प्रहरीले असोज १ गते पक्राउ गरी सार्वजनिक गरेको थियो। उनलाई पक्राउ गरेसँगै प्रहरीले घटनाबारे जानकारी दिने दीपेन्द्र राईलाई छोडेको थियो।

दिपेन्द्र पनि सोही सःमिलमा बस्थे। घटना भएको राति अबेरमात्रै उनी सःमिलमा फर्किएका थिए। त्यहाँ रक्ताम्य अवस्थामा शव देखेपछि उनी अत्तालिँदै सडकमा निस्केका थिए। त्यसपछि प्रहरीले सोधपुछ गर्दा हत्याबारे बताएका थिए।

सञ्जयले दीपेन्द्र राईलाई पनि मार्न सकेको भए आफूलाई प्रहरीले समात्न नसक्ने बयानमा बताएका छन्।

‘लाइट बाल‍ेर आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला। दीपेन्द्रले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो। यदि घटनापछि निज व्यक्ति घटनास्थलामा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थें जस्तो लाग्छ,’ बयानमा उनले भनेका छन्।

हत्या गरिएका कुमार लामो समयदेखि सोही समिलमा काम गर्दै आएका थिए। उनकी आमा सुभद्रा सोही दिनमात्रै छोरा भेट्न तीनकुने पुगेकी थिइन्।

घटनाको अनुसन्धान सकेर बुधबारमात्रै प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेको छ।

सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ।

सञ्जयले दिएको अन्य ठाउँमा मानिसहरूको हत्या गरेको सम्बन्धमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरले सीआइबीलाई पत्राचार गरेको छ।

Post a Comment

Previous Post Next Post