आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ।

रातिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post