टाउको फेला परेको दुई दिनपछि युवकको शरीर फेला


सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि बिहीबार बिहान टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर परको जंगलमा फेला परेको छ ।

टाउकोबाट अलग्गिएको युवकको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिणबाट युवकको शव फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले जंगलमा टाउको नभएको फेला परेको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको बताए ।

टाउको फेला परेपछि शव खोज्नका लागि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।टाउको सहितको शव भने भारतको सीतामढी जिल्ला मनियारी बस्ने २३ वर्षीय गोलु भनिने अभिषेख राज रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोलु साउन २० गते आफ्ना ४ जना साथीसँग नेपाल घुम्न र रमाइलो गर्न आएका थिए । गोलुसँग आएका चारै जना युवक भने फरार छन् । उनीहरुको भारतीय प्रहरीको सहयोगमा खोजतलासको काम भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा गोलुको हत्या सँगै आएका साथीहरुले गरेर फरार भएको प्रहरीको भनाइ छ ।

यता पाँचैजना भने भारतको ग्याङस्टारहरु रहेको खुलेको छ । हत्या भएका युवकसहित उनीसँगै आएका चार जनामाथि भारतमा हत्या लगायतका अभियोग दर्ता रहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

उनका अनुसार पाँचैजना भारतीय प्रहरीको 'वान्टेड'को सूचीमा छ । हत्या भएको युवक गोलु पनि केही दिनअघि मात्र भारतमा एक व्यक्तिलाई गोली हानेर फरारको सूचीमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ । यसअघि फेला परेको गोलुको टाउको भने पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post