अविवाहित जोडीबाट जन्मिएको शिशु अस्पतालबाटै गायब भए पछि ....

<

अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायब भएपछि अस्पतालका चिकित्सक र शिशुका अविवाहित 'बाबु'लाई प्रहरीले पक्राउ गरेको छ ।


विराटनगरका स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई पक्राउ परेका हुन् । आफ्ना प्रेमी र चिकित्सक कर्णले मिलेर शिशु गायब पारेको भन्दै २६ वर्षीया पीडितले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जन दाहालका अनुसार सामान्य अवस्थामा जन्मिएकी बच्चाको अवस्था अहिले सम्म अज्ञात छ । प्रहरी नियन्त्रणमा रहेका चिकित्सक कर्णले अनुसन्धानमा असहयोग गरेका कारण बच्चाको अवस्था प्रस्ट हुन नसकेको दाहालको भनाइ छ ।


गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई असार १३ मा विराटनगर लिएर आएका थिए । सुरुमा ग्रिनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा पुगे । डा. कर्णले सञ्चालन गरेको क्लिनिकमा सुरुमा परीक्षण गरेपछि कर्णले ती युवतीलाई नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गराएका थिए । असार १४ मा नर्मल अवस्थामा शिशुको जन्म गराएर त्यसै दिन युवतीलाई उनले डिस्चार्ज दिएका थिए ।

डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) एवं राजनीतिमा पहुँच राख्ने चिकित्सक पनि हुन् । उनी विराटनगरमा एक व्यस्त चिकित्सकको रुपमा पनि चर्चित छन् ।


सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका छन् । क्लिनिकमा आएकालाई भर्ना गर्नुपर्दा उनले ग्रिनक्रस अस्पतालमा लगेर उपचार गर्छन् । उनको क्लिनिकबाट ग्रिनक्रस ५० मिटर पश्चिममा पर्छ ।


उनले ती युवतीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएको र जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिएको अनुसन्धानमा खुलासा भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ती युवतीको वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।
अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ मा दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ ।

अस्पतालले डिस्चार्ज दिएपछि प्रेमी गोविन्दले प्रेमिकालाई इटहरी लिएर गएको अनुसन्धानमा खुलेको छ ।गोविन्दले प्रेमिकालाई टेम्पोमा राखेर बच्चाबिना नै इटहरी पुर्‍याएर बसपार्क छेउको होटलमा कोठा लिएर राखेको पनि खुलेको छ । प्रेमिकाले बच्चा खोइ भन्दा गोविन्दले अस्पतालमै उपचार भइरहेको बताए । दुई दिन पछि असार १६ मा गोविन्द प्रेमिकालाई 'काम छ बस्दै गर्नु' भन्दै होटलबाट हिँडेका थिए । ‘त्यसपछि फर्किएर आउनु भएन,’ पीडित युवतीले भनिन् ।

प्रेमी गोविन्द फर्किएर नआएपछि युवती होटलमा अलपत्र परेपछि सुनसरीको सोनापुर आएर बसिन् । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको ती युवतीको भनाइ छ । छोरी जन्मिएको अस्पतालकै नर्सहरुले आफूलाई सुनाएको पनि युवतीले बताइन् ।


‘पछि डिस्चार्ज गर्दा बच्चा दिएनन्,’ उनले प्रहरी समक्ष भनिन् । बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । होटलमा छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन् । उनले साउन ३२ मा किटानी उजुरी दिएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ ।


उजुरी परेपछि प्रेमी गोविन्द प्रहरीको सम्पर्कमा आएका थिए । उनीसँगको सोधपुछपछि प्रहरीले डा. कर्णलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘अस्पतालमा भएका कारण डा. कर्णसँग सोधपुछ गर्न र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डीएसपी दाहालले भने ।

डा. कर्णले भने ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् । दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आएको भनेका थिए ।

प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरिएको छ ।’ गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको डिएसपी दाहालको भनाइ छ ।

प्रहरीका अनुसार बच्चा कहाँ पुर्‍याइयो भन्ने खुल्न सकेको छैन । चिकित्सक र गोविन्दलाई सँगै राखेर सोधपुछ गर्न नपाउँदा बच्चाको अवस्थाका बारेमा जानकारी हुन नसकेको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार गोविन्द हिरासतमा र चिकित्सक अस्पतालको बेडमा रहेकाले दुवैलाई एकै ठाउँमा राखेर सोधपुछ गर्न पाइएको छैन ।


बच्चा जन्मिदा नौ सय ५० ग्राम तौलको रहेको अस्पतालको रेकर्डमा देखिएको प्रहरीले जनाएको छ । अवैध गर्भधारणबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतिलाई बेच्ने गरिएकोले यो विषयमा गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post