जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत मंगलबार जंगलमा पाइने विषालु च्याउ खाएर बिरामी भएका पूर्वी रोल्पाको लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार लुंग्रीको बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ घरमा लिएर तरकारी खाएका थिए । च्याउ खाएर बिरामी भएपछि अर्को दिन उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएइको थियो ।

सबै जनाको उपचार भइरहेकामा बिहीबार सानो छोरा प्रेमको, शनिबार ठूलो छोरा सुशीलको र आइतबार आमा भीमा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएर गम्भीर बिरामी भएका उनीहरूलाई उपचारका लागि बुटवल लगे पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी श्याम सारु मगरले बताए ।



यसैगरी च्याउ खाएरै बिरामी भएका लुंग्रीकै अन्य ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएरै मंगलबार नै बिरामी भएका सबैलाई प्राथमिक स्वास्थ्य उपचारपछि घरमा पठाइएको छ । च्याउ खाएर बिरामी भएका बुझिङ गाउँका ५ जनामा टाउको दुःख्ने, उल्टी हुने समस्या देखिएपछि आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताए । ‘उनीहरूको अवस्था सामान्य भए पनि असर कायमै भएकाले बुटवल पठाइएको हो । त्यहाँ थप उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने । उनले च्याउ खाने चलन भएकाले बर्सेनि बिरामी हुने समस्या यथावत रहेको बताए ।

थप उपचारका लागि मंगलबार नै बुटवल पठाइएका बिरामीमा लुंग्री–५ बुझिङ गाउँका २६ वर्षीया बिमला विक, उनकी ७ वर्षीया छोरी रोशनी विक, २४ वर्षीया दिल्कु विक, उनकी ६ वर्षीया छोरी आकृति र २३ वर्षीया रितु विक छन् । च्याउ खाएपछि बिरामी भएका उनीहरूको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा सुरुको अवस्था सामान्य थियो । तर ६ दिनपछि पनि बिरामी पूर्ण सन्चो हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको अध्यक्ष थापाले बताए ।



यसैगरी च्याउ खाएर बिहीबार बिरामी भएका लुंग्री–१ मापदर गाउँका ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार गरेर थप उपचार गर्न बुटवल पठाइएकोमा उनीहरूको अवस्था सुधार भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । बिरामी भएर बुटवल पठाइएकामा ७९ वर्षीय दमन पुन, ८ वर्षीय नीसुवास पुन, ६१ वर्षीया देउसरा पुन, ३० वर्षीया दानु पुन,उनका छोरा १३ वर्षीय बिष्णु पुन र उनका अर्को छोरा १० वर्षीय नवीन पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भूसालले बताए ।



यसैबीच च्याउ खाएर बिरामी भएको घटनापछि रोल्पा प्रहरीले जनचेतनामूलक सामग्री निर्माण गरेर स्थानीय सञ्चार माध्यममा प्रचार प्रसारका लागि बाँडेको छ । प्रहरी निरीक्षक रामनारायण गुप्ताले जनचेतना बढाउन प्रहरीले जिल्लाभर अभियान थालेको बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post