जिमकाे छाना भत्किँदा ११ जनाको ज्यान गयो


उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशाला (जिम) को लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको ज्यान गएको त्यहाँको सरकारी सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।

हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माणकर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण छाना भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सीसीटीभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेको देखिएको छ ।

उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । 

दुर्घटनाको अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बरको मिडिल स्कुलको जिमको छाना आइतवार दिउँसो ३ बजेतिर ढलेको थियो ।

स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चार जनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चार जनाले दुर्घटनापछि भागेर ज्यान बचाउन सफल भएका छन्  ।

झन्डै एक सय ६० जना अग्नि नियन्त्रक र ३९ वटा फायर ट्रकको सहायतामा खोजी तथा उद्धार कार्य सम्पन्न भएको सीसीटीभीले जनाएको छ ।

नाम नखुलाइएको एक स्रोतले सरकारी स्वामित्वको चोङकिङ न्युजलाई बताएअनुसार छानामा थुप्रिएका सामग्रीको बारेमा भत्किनुअघि नै चिन्ता व्यक्त गरिएको थियो ।

‘व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो’, स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सले भनेको छ, ‘छतमा थुप्रिएका सबै सामानले केही न केही होला कि भनेर सबै चिन्तित थिए ।’

गएको महिना चीनको उत्तर पश्चिमी क्षेत्रमा रहेको बारबेक्यू रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको ज्यान गएको थियो भने कार्यस्थलको सुरक्षाका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने औपचारिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post