मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको सुतेकै ठाउँमा मृत्यु भएको छ ।दुर्घटनामा कुनैपनि चोटपटक नलागेका रंगेली नगरपालिका–३ का ५३ वर्षीय जितेन्द्र पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडेलले चलाएको प्रदेश १–०२–०४४ प ४४०९ नम्बरको मोटरसाइकल गत सोमबार राति ८:३० बजेतिर रंगेली–३ निशान थानस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेपनि चालक पौडेल सामान्य थिए । बाहिरी चोटसमेत नदेखिएका उनी राति ९ बजेतिर आफै घरमा पुगेर सुतेका थिए ।

सुतेकै ओछ्यानमा भोलिपल्ट बिहान ७ बजेतिर मृत फेला परेका हुन् । तर, प्रहरीले भने मंगलबार साँझ ५: ३० बजेतिर मात्रै घटनाको जानकारी पाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

शवको रंगेली अस्पतालमा पोस्टमार्टम गरिएको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Post a Comment

Previous Post Next Post