
बनेपा स्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ वर्षिया श्रेया तामाङले मंगलबार काभे्रेको बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको बस दुर्घटनामा बाबु बुद्ध र आमा कोपिलालाई गुमाउनु पुग्नु भयो । बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र रगत थियो । उनलाई चोटपटक छैन ।
शिर मेमोरियल अस्पतालको बालशाखामा उनको उपचार भईरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नु भएको थियो । ‘बसबाट निकाल्ने वित्तिक्कै श्रेयाले बाबुआमाका बारेमा सोध्नु भयो’–स्थानीय डिकमान लामाले भन्नुभयो–‘शरिरभरी सिसाका टुक्रा र अरु घाईतेको रगतको छिटा उहाँको शरिरमा थियो ।’ १७ जनाको विभत्स हत्यामा श्रेया एक्लो बालिका हुन् जसलाई बाबु आमा गुमेको सूचना छैन ।
उनको परिवारका ८ जनाको निधन भएको छ । बनेपा ११ का ८ जना र १४ का २ जना गरी १० जनाको निधन हुँदा सिंगो गाउँ शोकमा डुबेको छ । दुर्घटनामा तेमालका २, बेथान्चोकका २, मण्डनदेउपुर १, ललितपुर १, मकवानपुर जिल्लाका १ एक जनाको निधन भएको छ ।
बुबा आमा दुबै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’– सिता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन् ।’ अस्पतालमा विद्यालयकी शिक्षिका शुशिला श्रेष्ठ पनि हुनुहुन्छ । उहाँका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रा मध्ये श्रेया एक हुन् ।
उनको पढाई तिक्ष्ण छ । २६ बर्षिया कोपिला थांका लेख्नुहुन्थ्यो भने श्रीमान बुद्ध फर्निचरको काम गर्दै आउनु भएको थियो । कोपिला र बुद्धको एक मात्र सन्तान श्रेया अभिभावक विहिन बन्न पुग्नु भएको छ ।अस्पतालमा उपचारार्थ २३ बर्षिय शेरबहादुर तामाङले बुबा आमा गुमाउनु भएको छ ।
उहाँको ढाडमा गम्भिर चोट लागेको छ । हेमा तामाङ र आकुर तामाङ दुबैले उक्त घटनामा ज्यान गुमाउनु भएको छ । तेमाल घर भएकी २९ बर्षिया टिकालक्ष्मी तामाङ र उनका छोरा ९ बर्षिय गुरु लक्ष्मणदास तामाङको पनि निधन भएको छ । आफन्तको छेवारमा गएकाले मृत्यु हुनेहरु अधिकांश आफन्त छन् । केहि छिमेकी हुन् ।
घटघट गर्दै पल्टियो बस
बनेपा नगरपालिका वडा नम्बर ११ र १४, तेमाल, मण्डनदेउपुर, मकवानपुरबाट आफन्त लिएर गएको बा ३ ख ४३८५ नम्बरको बस मंगलबार विहान ९ बजे बनेपाबाट बेथान्चोक गाउँपालिका वडा नम्बर ५ च्याल्टीमा मुकुल वाईवाको छोरा ११ वर्षका योकेश वाईवाको छेवारमा निम्ता मान्न पुगेको थियो ।मामा बनेर गएका आफन्तहरु दिनभर छेवारमा ब्यस्त भई साँझ पौने ६ बजे बनेपा फर्कने क्रममा बेथान्चोक ४ गणेस्थान नजिकै मुल सडकमा पल्टिएको थियो । ‘बसमा ब्रेक लागेन, सिटमै बस्नुस है नआत्तितुनस भनेका थिए, एक्कासी घटघट आवाज आयो । बस पल्टिएको थाहा पाएँ ।
औला दिइरहें कोहि आउन सकेन’–घाईते निरुमाया वाईवाले भन्नुभयो–‘बसका चालकले रोक्न खोज्दा ब्रेक नलागेकाले बस पल्टिएको हुन सक्छ । माथि देखि नै बस अडिएन भन्दै थिए । हामीले डरले चिच्याउँदा चिच्याउँदै बस पल्टिसकेछ ।’स्थानीय तथा उद्धारकर्मी डिकमान लामाका अनुसार बसको स्पिड सँगै ब्रेक लाग्न नसकेकाले भित्तामा ठोक्किएर पनि बल्ड्याङ्क खाएकाले धेरै क्षति हुन पुगेको हो ।
धेरैलाई जिवित नै उद्धार गर्न सकिएको थियो भने घटनास्थलमै १७ जना मरेका ब्यक्तिहरुको शब स्काभेटरको सहयोगमा समेत निकालिएको थियो । चालक ललितपुर निवासी तेजप्रसाद तिमल्सिनाले सबै यात्रुलाई बचाउन खोज्दा खोज्दै दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घाईतेहरु अधिकांश घटनास्थलसम्म आईपुग्दासम्म छेवारमा खाएको खानाका कारण निदाउन थालिसकेका थिए । सह चालक सन्तोष चौलागाईले बस धेरै गतिमा नभए पनि रोक्न खोज्दा खोज्दै पनि ठोक्किन गएको हुन सक्ने बताउनु भयो । घाईते मध्ये ४ जनाको स्वास्थ्य अवस्था गम्भिर छ । बालिका श्रेया तामाङ बाहेक अधिकांश उपचार गरिरहेका छन् ।