पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, हिउँदेखोलामा पुन: पहिरो खसेको छ ।
बिहीबार रातिदेखिको वर्षाले भासिएको सडकमा बनाइएको नयाँ डाइभर्सनमै पहिरो खसेको छ । सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार रातभरको मिहिनेत खेर जानेगरी पहिरो खसेको छ ।
डाइभर्सन निर्माणको कामलाई तीव्रता दिन वर्षाले अवरोध गरेको उनले बताए । ‘अविरल वर्षासँगै तल्लो भागमा भासिने र माथिल्लो भागबाट पहिरो खस्ने भएर काम गरेको नगरेको उस्तै भएको छ,’ उनले भने।
डाइभर्सन निकालेर शुक्रबार दिउँसोसम्म सवारी सञ्चालन गर्ने योजनामा पहिरोले समस्या ल्याएको छ ।रातिदेखि सवारी साधन रोकेर डाइभर्सनको काम गरेको थियो । दुई वटा एक्सकाभेटर प्रयोग गरेर विपरीत क्षेत्रबाट काम गरेको उनले बताए ।
बिहीबार राति १० बजेबाट नयाँ डाइभर्सन निर्माणको काम सुरु भएको थियो । एकतर्फी सवारी साधन पास गराउनका लागि डाइभर्सन निर्माण सम्पन्न हुने समयमा वर्षाले गर्दा पहिरो खसेको छ । पहिरो खस्ने र पानी पर्ने भएपछि साना सवारी साधनसमेत सञ्चालन हुन सकेको छैन ।