श्रीमानलाई पछ्याउँदै फुल्चोकी पुगिन् रूपा, उनैको हातबाट गुमाइन् ज्यान

बिहानै मादक पदार्थ सेवन गरेर रूपा क्षेत्री त्यसदिन आफ्ना श्रीमानको घरमा पुगिन्। दोलखाका ६३ वर्षीय घ्याल्मो लामा ललितपुरको हरिसिद्धीमा आफ्नी छोरीसँगै बस्थे।

भदौ १६ गते बिहान करिब १० बजेतिर रूपा डेरामा पुगेर श्रीमान घ्याल्मोसँग झगडा गरिन् र दुई थप्पड हिर्काइन्।उनी घ्याल्मोकी तेस्री श्रीमती हुन्। रूपा पनि हरिसिद्धीमै छुटिएर बस्दै आएकी थिइन्।

उनीहरू दुबै जना ज्यामी काम गर्थे। ७२ सालको भूकम्पपछि काठमाडौंमा ज्यामी काम गर्दागर्दै उनीहरूले विवाह गरेका थिए।उनीहरूबीच झगडा भएको त्यो पहिलो दिन थिएन।

उनीहरूले सात वर्षअघि प्रेम विवाह गरेका थिए। बिहेको ६ महिनामात्रै उनीहरूको सम्बन्ध राम्रो भयो। त्यसपछि सधैंजसो झगडामात्र।त्यसदिन पनि उनीहरूबीच झगडा भयो। रूपाले दुई थप्पड हिर्काएपछि घ्याल्मो घरबाट निस्किए। उनको पछि-पछि रूपा पनि निस्किइन्।

रिसमा हिँडेका घ्याल्मो एउटा माइक्रो भ्यानमा चढेर फुल्चोकीतिर लागे। उनलाई पछ्याउँदै रूपा पनि गोदावरीको अन्तिम स्टपसम्म पुगिन्।त्यहाँबाट हिँडेर उनीहरू फुल्चोकीको जंगलतर्फ लागे। फुल्चोकीको एक ठाउँमा पुगेर फेरि झगडा गर्न थालेका थिए।झगडा गर्दागर्दै रूपाले भनिन्, ‘कि मर कि मलाई मारिदे।

डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य। त्यहाँ डोरीमा थुप्रै ध्वजापता झुन्ड्याइको थियो। झोंक चलेपछि घ्याल्मोले त्यही डोरीले घाँटी कसेर रूपाको हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए।हत्या गरेपछि घ्याल्मो त्यहाँबाट फर्किए। त्यसदिन यता उनले सामान्य रूपमा आफ्नो दिन बिताउन थालेका थिए।

तर आइतबार दिउँसो आएको एउटा सूचनाले उनलाई प्रहरीको हिरासतसम्म पुर्‍यायो।करिब साढे १२ बजेतिर नेपाल प्रहरीलाई फुल्चोकी डाँडामा एक जनाको शव भेटिएको खबर आयो। च्याउ टिप्न गएकी एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

घटना शंकास्पद छ भन्ने खबरपछि परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीको नेतृत्वमा टोली परिचालन भयो। घटनाबारे एसएसपी पोखरेलसम्म रिपोर्टिङ भइसकेको थियो।शव पूरै सडिसकेको अवस्थामा थियो। अनुहार हेरेर पहिचान हुनसक्ने आधार नै नभएको एसएसपी पोखरेलले बताए।

उनका अनुसार चिसो स्थानमा भएको हुँदा शव सबै नगलेको हो। सामान्य तापक्रममा भने शव १२ घण्टापछि गल्न सुरू हुने उनले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post