
वैशाख -आफ्नौ बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या
अभियोगमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहार गर्दा बुवा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबरपछि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी खटिएको थियो । सो टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -घरमा आएको पाहुनाको हत्या गरेको अभियोगमा मोरङका एक ८१ वर्षीय वृद्ध पक्राउ परेको छ । जिल्लाको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको अभियोगमा डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फडानीमा प्रेमबहादुर
बुढाथोकीको हत्या भएको थियो ।प्रहरीका अनुसार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । सोमबार बेलुका भुजेलको आगन अगाडि बुढाथोकीको शव भेटिएको सूचना पाएपछि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार मृतकको टाउकोमा बन्चरोले प्रहार गरेजस्तो देखिन्छ ।
वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।