छिट्टै फर्किन्छु भनेका राजन मुस्ताङको आकासमा आमा–बुवासँगै हराए

आइतबार नेपाली आकाशमा कालो बादल मडारिँदै थियो । सोही समयमा पोखराबाट जोमसोमका लागि तारा एयरको जहाज उड्यो ।

१९ यात्रुसहित उडेको विमानमा धनुषाका एकै परिवारका सातजना मुक्तिनाथ दर्शनमा गएका थिए । स्थानीय तह निर्वाचनको चटारो सकिएसँगै छोरा राजन गोलेले आमाबुवा, काकाकाकी र मामामाइजूलाई मुक्तिनाथ दर्शनका लागि लैजादै थिए ।तर, गोले परिवार गन्तव्यमा पुग्न सकेन । घरमा श्रीमती र छोराछोरीलाई फर्केर आउँछु भन्दै गएका गोले कहिले नफर्किने गरी बिदा भए ।

आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो ।केहीबेरमै उक्त खबर सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । त्यसलगत्तै नेपाली सेना र प्रहरी टोली हेलिकोप्टरसहित जहाज खोजिमा जुट्यो ।

प्रतिकुल मौसमकै कारण हेलिकोप्टरसहितको टोलीले घटनास्थलको भेउ पाउन सकेन । विमान बेपत्ता भएको खबरले परिवारमा रुवाबासी चलिरहेको थियो ।

धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका राजन गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ थिए ।

राजनको परिवार काठमाडौंको माकलबारी बस्दै आएको थियो । पहिले जया मल्टिपल कलेजका डीआई रहेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिए । राजन नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटी सदस्य थिए ।राजनका मामा मकरबहादुर तामाङ रिटायर शिक्षक हुन् । उनी केही दिन पहिले मात्रै रिटायर भएका थिए । उनी पनि समाजवादीका जिल्ला कमिटी सदस्य थिए ।

राजनका छिमेकी तथा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो भन्छन्, ‘‘शनिबार मात्रै राजनसँग कुरा भएको थियो । हामी पोखरामा छौँ । दुईतीन दिनपछि फर्किन्छौँ भनेका थिए । फर्किनै पाएनन् ।राजन काठमाडौंमै बसेर नेता महतोको निजी सचिवालयको काम गर्थे ।

मन्त्री महतोका अनुसार जहाज दुर्घटनामा परेका सातैजना गाउँका आफन्त हुन् । ‘‘राजनका मामा मकरबहादुर तामाङका एक छोरा विदेशमा थिए भने एकजना यतै गाउँमा छन् । घटना थाहा पाएपछि काठमाडौं पठाएका छौँ,” उनले भने, ‘‘गाउँ नै शोकमा डुबेको छ ।”

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post