नयाँ घरमा बस्नै पाएनन् राजन, मृतकका परिवारको अवस्था यस्तो छ हेर्नुहोस्

आँगनमा कसैले टेक्ने बित्तिकै उनी भक्कानिएर रुन्छिन् । रुँदारुँदै उनको घाँटी बसिसकेको छ । आवाज स्पष्ट आउँदैन । आँखा सुनिएर राता भएका छन् ।

कोही आउँदा ‘सासु ससुरा खोई ?’ भन्दै बिलौना गर्छिन् । र, छिनछिनमै मुर्छा पर्छिन् ।

उनी–प्रेम कुमारी, मंकरबहादुर तामाङकी बुहारी ।मकरबहादुरका छोरीद्वय कान्ती र शान्ति पनि अचेत छन् । बेलाबेला ओछ्यानबाट उठेर बरबराउँछन्, “बुबा आउनुभयो !” कान्छी छोरी कान्ती कुनै बेला हाँस्छिन्, कुनै बेला रुन्छिन् । होसमा छैनन्, उनीहरू ।

दुई दिनदेखि घरमा चुलो बलेको छैन । घरगाउँ शोकमा डुबेको छ ।भवविह्वल अवस्थामा छ, धनुषाको मिथिला नगरपालिका ११ लोटा टोलस्थित मंकरबहादुर तामाङको घर । मंकरबहादुर र उनकी श्रीमती सुकुमायासहित सातजना परिवारको विमान दुर्घटनामा निधन भएको पुष्टि भइसकेको छ ।यो खबरले घरमा रहेका छोरी बुहारीको आँसु थामिसक्नु छैन । शरीर काबुमा छैन ।

मुक्तिनाथ तीर्थमा गएका बाबुआमा चढेको विमान बेपत्ता भएको खबर पाएपछि छोरा उत्तम आइतबार पोखरा पुगे । कान्छा छोरा सुरेश पनि काठमाडौंबाट पोखरा पुगेका छन् । माइलो छोरा रत्नभुष्ण कतारबाट स्वदेश फर्किने तयारीमा छन् ।घरमा मृतक मंकरका छोरी र बुहारी नातिनातिनी र ज्वाइँ छन् ।

बहारी प्रेम कुमारी भगवानप्रतिको आस्था गुमेको बताउँछिन् । “जसलाई भाकल गर्न बुबाआमा जानुभयो । उहाँले नै मृत्युको मुखमा पुर्‍याइदिनुभयो,” उनी भन्छिन्, “यो घटनाले भगवानप्रतिको आस्था कम भएको छ । भगवान निर्दयी हुन्छन् ।

ज्वइँ मदन लामा पनि बोल्न सक्ने अवस्थामा छैनन् । गाउँका कोही आउने बित्तिकै एकान्तमा जान्छन् । घटना सम्झेर उनको पनि आँखा रसाउँछ ।घटनाले छिमेकी सुरेश लामा निकै दुःखित छन् । “संसारमा केही रहेन छ । असल मान्छेको राम्रो त झनै भगवानले हेर्न सक्दैन,” उनले भने, “राजनले गाउँका धेरैले सहयोग गरेको थियो, कतिलाई रोजगारी पनि दिएको थियो ।

गाउँका युवालाई गलत बाटोबाट सही बाटोमा डोर्‍याउने काम गरेको उनको भनाइ छ । वन जंगल र चुरे जोगाउन पनि उनको पहल सराहनीय रहेको उनी बताउँछन् ।मृतक मंकर अवकाश प्राप्त शिक्षक थिए ।

उनीहरू गएको फागुनमा मुक्तिनाथ तीर्थ जाने सोचेका थिए । पछि सबै परिवार एकैपटक जाने कुरा भएको थियो । सोहीअनुसार मंकर दाम्पती शुक्रबार काठमाडौं गएका थिए । उनका भान्जा राजन गोले काठमाडौंमै परिवारसहित बसिरहेका थिए । सबै जना शुक्रबार एकजुट भए । शनिबार मुक्तिनाथ जाने योजनाअनुसार पोखरा पुगे ।

राजन एक दशकदेखि सम्पूर्ण परिवारसहित काठमाडौंमै बसिरहेका छन् । गाउँमा घर तयार भएपछि आउने सोचेका थिए । गाउँमा सात कोठेसहितको दुई तले भवन निर्माणाधीन छ । घरको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

शनिबार भएको विमान दुर्घटनामा राजनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तमाङ, काका, पुरुषोत्तम गोले र काकी तुल्सा देवीको पनि मृत्यु भएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post