
मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा सामाजिक शिक्षा पढाउने शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई उनकै घर पुगेर यौन दुर्व्यवहार गरे ।
घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती करणीको प्रयास गर्दा ती छात्रा चिच्याएपछि ५६ वर्षीय शिक्षक पौडेल त्यहाँबाट भागे ।
लेटाङ-३ घर भएका पौडेलले यसअघि पनि त्यस्तै व्यवहार देखाएको भन्दै उनलाई अभिभावक र विद्यालय प्रशासनले यस्ता घटना नगर्न चेतावनी दिएका थिए । तर होलीका दिन पौडेलले आफूले अध्यापन गराउने विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेपछि स्थानीय आक्रोशित भएका थिए ।
शुक्रबार र शनिबार बिदाको दिन भएका कारण विद्यालय बन्द भयो । आइतबार विद्यालय खुलेसँगै ती छात्राले आफूमाथि शिक्षकले गरेको यौन दुर्व्यवहार अन्य सहपाठीसँग सुनाइन् । यसअघि पनि पटक–पटक आफूलाई गलत उद्देश्यले छुने गरेको ती बालिकाले सुनाइन् । त्यसपछि विद्यार्थी र स्थानीयले शिक्षकलाई घेराउ गरे । विद्यालयमा तनाव उत्पन्न भएपछि प्रअले लेटाङ–५ का वडाध्यक्षलाई जानकारी गराए ।
टनाबारे वडाध्यक्ष भुमसूर्य मगरले थाहा पाएपछि उनी विद्यालयतिर गए । तर आक्रोशित भिड उनीमाथि नै खनिन खोजेपछि वडाध्यक्ष मगरले प्रहरीसँग समन्वय गरे । प्रहरी आएपछि आक्रोशित भिड शिक्षक पौडेललाई जोगाउन खोजेको आशङ्कामा तोडफोड र आगजनीमा उत्रियो ।
भिडले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरे । विद्यालय परिसरमा आक्रोश व्यक्त गरेपछि आरोपित शिक्षकलाई प्रहरीको सुरक्षा घेरामा राखिएको थियो । विद्यार्थी आक्रोशित भएपछि प्रहरीले मे१च ६६२ नम्बरको एम्बुलेन्समा हालेर शिक्षकलाई उद्धार गरेको थियो ।
आरोपित शिक्षकलाई उद्धार गर्न एम्बुलेन्स ल्याएको भन्दै विद्यार्थीले एम्बुलेन्समा समेत ढुङ्गामुढा गरे । प्रहरीमाथि मात्र नभएर आक्रोशित भिडले प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्यमाथि पनि आक्रमण गरे ।तर अवस्था तनावग्रस्त बनेपछि ज्यान जोगाउन मुस्किल पर्ला जस्तो भयो । दिनभरि शिक्षकलाई निकालेर लैजान दिएनन् ।
साँझ परेपछि प्रहरीले निकालेर लगेको थियो । लैजाने क्रममा प्रहरीमाथि आक्रमण भयो । जसक्रममा प्रहरी जवान रेणु यादव र उर्मिला श्रेष्ठ घाइते बने । घाइते श्रेष्ठको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो ।घटनामा ज्यान गुमाएकी प्रहरी जवान श्रेष्ठको घाँटीमा चक्कु प्रहार भएको बताइएको छ ।
मृतक श्रेष्ठ तीन वर्षअगाडि मात्र प्रहरी सेवामा भर्ना भएकी थिइन् । प्रहरी सेवामा तालिम लिएपछि उनी गणमा कार्यरत थिइन् । उनका पति पनि प्रहरी सेवामै छन् । उनका पति इलाममा कार्यरत रहेको बताइएको छ । प्रहरी जवान श्रेष्ठको घर खोटाङ रहेको प्रहरीले जनाएको छ ।