कास्की — केही समयअघि मात्रै ६ महिना पुगेको खुसियाली मनाउँदै परिवारले भात खुवाई कार्यक्रम गर्यो । घरको सानो सदस्यलाई परिवारले अहिलेसम्म घर छाडेर कतै लगेनन् ।
६ महिने गौरव सारूलाई ‘बुटी’ बनाउन घरका सदस्यले पहिलोपटक वालिङ ल्याउन लागेका थिए ।साथमा हजुरआमा मायाकुमारी, आमा शर्मिला र फुपू नवीना थिए । खुसी मनाएको केही दिन नबित्दै सारू परिवार शोकमा डुबेको छ ।
पहिलोपटक घर बाहिर लगिएका गौरव अब कहिल्यै फर्किने छैनन् । स्याङ्जाको वालिङ–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जिप दुर्घटनामा उनले ज्यान गुमाए । आइतबार बिहान १० बजे भएको दुर्घटनामा उनीसहित ५ जनाको मृत्यु भएको हो । गौरवका काका देव भन्छन्, ‘छोरोलाई बुटी बनाउने भनेर ममी, भाउजू र बहिनी बजार हिँडेका थिए । यस्तो अकल्पनीय घटना भयो ।
घाँस लिन खरबारी गएका देव घर फर्किने क्रममा बाटोमै उनले जिप भीरबाट खसेको खबर सुने । ‘जिप खस्यो भनेपछि मलाई शंका लाग्यो, डराउँदै घटनास्थल पुगें,’ उनले भने, ‘भाउजू र छोरोले घटनास्थलमै ज्यान गुमाए ।
ममी र बहिनी घाइते छन् ।’ जिपमा तीन परिवारका सदस्य र आफन्त गरी ११ जना सवार थिए । ‘ड्राइभर नै पुसाई (फुपा) हुन्,’ उनले भने, ‘पुसाई र उहाँको छोरा पनि घाइते छन् ।’ मृतक शर्मिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा छन् ।
डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको महिन्द्रा जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । जिप अचानक आफैं गुडेपछि चालकले ब्रेक लगाउन खोज्दा पनि नलागेको घाइते योगेन्द्र थापाले बताए । उनका अनुसार ब्रेकले काम गरेको भए यति ठूलो दुर्घटना हुने थिएन ।
दुर्घटनामा ६ महिने गौरव सारू, उनकी आमा २५ वर्षीया शर्मिला सारू, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हीरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।
दुर्घटनामा ६० वर्षीय अंगबहादुर दाला, ५५ वर्षकी मायाकुमारी सारू, ३५ वर्षका योगेन्द्र थापा, १८ वर्षकी नवीना सारू, १९ वर्षकी लक्ष्मी दाला र ६० वर्षीय दलबहादुर थापा घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्राथमिक स्वास्थ्य चौकी वालिङमा प्राथमिक उपचारपछि उनीहरूलाई पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।