
विराटनगर । मोरङको लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । गत चैत ६ गते विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप
लगेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको हो ।
ती मध्ये २० जनामाथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । २९ जनालाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।
कक्षा ७ मा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेलमाथि प्रहरीले जवरजस्ती करणी उद्योगमा अनुसन्धान गरिरहेको छ । शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरी चैत ६ गते विद्यालय प्रशासनमा परेपछि छलफलका लागि उपमेयर कष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडा अध्यक्ष भूम सुर्य मगर विद्यालय पुगेका थिए ।
पटक पटक यौन दुर्व्यवहार गर्ने शिक्षकलाई जोगाउन खोजेको भन्दै विद्यार्थी र अभिभावकले आन्दोलन सुरु गरेका थिए । दिउँसो करिब साढे १२ बजेबाट सुरु भएको आन्दोलनले उग्र रुप लिँदा साँझ करिब साढे ७ बजे प्रहरी जवान श्रेष्ठको हत्या भएको थियो । आन्दोलनकारीले विद्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए ।