१५ वर्षीय नेपाली बालक जसले पैसा छाप्ने मेशिन देखि मोबाइल सेट यसरि बनाउँछन्

विभिन्न प्रविधिको प्रयोग गरी चमत्कारी आविष्कार गर्दै आएका बर्दियाको बढैयाताल गाउँपालिका– ८ बर्मेली टोलका १५ वर्षीय प्राञ्जल ज्ञवाली बाल वैज्ञानिक नामले चिनिन थालेका छन् ।

वैज्ञानिक बन्ने अठोट सानैदेखि लिएका प्राञ्जलले ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा २०२१’ मा प्रथम भएर त्यो अठोट पूरा गर्ने बाटो तय गरेका छन् । बाल वैज्ञानिक प्राञ्जल बर्दियाको भगवती माविमा कक्षा १० मा अध्ययनरत छन् ।

यी प्रतिभाको अध्ययन कोठा अहिले ल्याब बनेको छ । उनले बिग्रेका विद्युतीय सामान, खेर गइरहेका कागज, फलाम प्रयोग गरेर सिसी क्यामेरा, भिडियो क्यामेरा, एटिएम मेशिन, खानेपानी वितरण मेशिन, मोबाइलको चार्जर, पावर बैंक, हाते माइक, आलाराम मेशिन, प्रोजेक्टर, ट्राइपट पङ्खा, मोबाइल फोन सेट, ल्यापटप, पैसा छाप्ने मेशिन र बाफ लिने मेशिन आदि सामग्री निर्माण गरिरहेका छन् ।

‘स्मार्ट होम’ बनाउने त उनको सोख नै हो । यसका लागि उनले विभिन्न बिग्रेका विद्युतीय सामान तथा खेर गइरहेका कागज र फलामको प्रयोग गर्ने गर्छन् । कुनै पनि घरमा बाहिरबाट गाडी आएपछि खुल्ने र गाडीभित्र छिरेपछि आफैँ बन्द हुने ढोका पनि उनले बनाएका छन् ।

त्यस्तै उनले भूइँमा टेक्दा घन्टी बज्ने मेशिन पनि बनाएका छन् । यसका कारण कसैले घरबाट बहुमूल्य सामान चोरेर भाग्दा पनि थाहा हुने भएकाले यो मेशिनको उपयोगिता बढी नै हुनसक्ने देखिएको छ ।

त्यसैगरी उनले शयन कक्षमा आफैँ पानीको धारा खुल्ने, नुहाइसकेपछि बन्द हुने, पानी सकिएपछि मोटरले आफैँ पानी तान्नेदेखि लिएर सेन्सरबाट काम गर्ने धेरै मेशिन पनि उनले बनाएका छन् ।

विज्ञान विद्यार्थी प्राञ्जल हालै आयोजित ‘प्रतिभा पहिचान कार्यक्रम २०७८’ मा प्रथम भएपछि अहिले उनको घरमा खुसीयाली छाएको छ । उनी आगामी असोज १ गते नगद पुरस्कारसहित सम्मानित हुने भएका छन् ।

विज्ञान शिक्षक समाज, नेपालले आयोजना गरेको सो प्रतियोगितामा नेपालका सातै प्रदेशबाट छनोट भई आएका १४ जना प्रतिस्पर्धी थिए । ती विद्यार्थीले वैकल्पिक माध्यमबाट आ–आफ्ना प्रविधियुक्त परियोजना प्रस्तुत गरेका थिए । ती विद्यार्थीले निर्माण गरेका परियोजनाको मूल्याङ्कन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलको उपस्थितिमा पाँच सदस्यीय विज्ञ समितिबाट भएको थियो ।

कक्षा १० का विज्ञानका विद्यार्थीमा यो प्रतिस्पर्धा गराइएको थियो । विद्यार्थीमा भएको विज्ञानसम्बन्धी ज्ञान र प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रियरूपमा पहिचान गराउन सो कार्यक्रमको आयोजना गरिएको थियो । सो प्रतियोगिताको पहिलो चरणमा सातै प्रदेशमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई प्रत्येक प्रदेशबाट दुई÷दुई जनाका दरले १४ जना विद्यार्थी छनोट गरिएको थियो । ती १४ जनाबाट भगवती मावि, बर्दियाका प्राञ्जल प्रथम भएका हुन् ।

उक्त प्रतियोगितामा होराइजन मावि, कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितीय, आदर्श मावि, विराटनगरका श्रेता पोखरेल तृतीय र पद्मकन्या मावि काठमाडौँका स्वीकृति बाँस्तोला चतुर्थ भएका थिए । उत्कृष्ट भएका विद्यार्थीलाई आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवसका अवसरमा नगदसहित प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिने छ ।

प्रथमलाई रु १० हजार, द्वितीयलाई रु आठ हजार तृतीयलाई रु छ हजार र चतुर्थ हुनेलाई रु चार हजार नगद पुरस्कार पनि प्रदान गरिनेछ । यो स्मार्ट होम बनाउँदा उनी प्रथम भएका हुन् । स्मार्ट होम बनाएकाले विज्ञान प्रतिभा पहिचानले प्रथम भएको बताउनुभयो । बाल वैज्ञानिक प्रतिभावान् देखेपछि उहाँका बुवा प्रदीप ज्ञवालीले सरकारले हामीजस्ता गरिबको बच्चाको पढाइ सम्पूर्ण निःशुल्क गरिदिएको भए बच्चालाई अघि बढ्न थप सहयोग हुने अपेक्षा गर्नुभएको छ । आफ्नो छोराको प्रतिभा देखेर घरमा धेरै भेटघाट गर्नसमेत आएको ज्ञवालीको बुवा बताउनुहुन्छ ।

महामारीका कारण नेपालमा पनि विद्यालय बन्द भएपछि प्राञ्जलले भने लकडाउनको समयको सही सदुपयोग गरेर आफू अविष्कारमा लागेको बताउँछन् । “महामारीका बेलामा कतिपय साथीलाई त फुर्सद भयो होला तर म भने निकै व्यस्त रहेँ”, उनले भने ।

बहुप्रतिभाशाली उनको प्रतिभाको सम्मानका लागि बढैयाताल गाउँपालिका, उनको विद्यालय र विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान तथा सहयोग प्रदान गरेका छन् । (रासस)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post