संखुवासभा हत्याकाण्ड : ४ जना तानिए प्रहरी अनुसन्धानमा हेर्नुहोस् भिडियो


काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङको सामूहिक हत्यामा प्रहरीले स्थानीयमाथि नै अनुसन्धान सुरु गरेको छ । भदौ २१ गते तेजबहादुर कार्की परिवारको सामूहिक हत्यामा स्थानीयले हत्या भइरहेको देखेर पनि नदेखेजस्तो गरी घटनाबारे जानकारी नगरेको भन्दै प्रहरीले केही स्थानीयमाथि थप अनुसन्धान सुरु गरेको छ ।

हाल हत्याका आरोपित लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने उनका भाई नरेश कार्की पनि पाँच दिनदेखि प्रहरीको नियन्त्रणमा छन् । आरोपितका भाईले घटना घटेपछि मृतक रञ्जना कार्कीको मोबाइल फोन लगेको प्रहरीले बताएको छ ।

त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा र मृतकको शबको पोष्टमार्टम रिपोर्ट हेर्दा मृतक रञ्जना र रञ्जनाकी सासु कमलामाथि धारिलो हतियारको प्रयोग भएको रिपोर्ट आएको छ । यसअघि हत्या स्विकार गरेका आरोपित लोकबहादुर कार्कीले चिर्पटले हानेर हत्या गरेको बयान दिएका थिए । तर, हाल प्रहरी अनुसन्धानमा रञ्जना र सासु कमलामाथि चिर्पटमात्र नभएर धारिलो हतियार प्रहार भएको देखिएको छ ।

सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार रञ्जना र कमलाको पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएको छ । साथै, यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

डिएसपी सुवेदीका अनुसार आरोपित लोकबहादुरले धारिलो हतियारको प्रयोग नभएको बताएका छन् तर, पोष्टमार्टम रिपोर्टमा धारिलो हतियारको प्रयोग भएको देखिएको छ । उनले भने, ‘यसकारण अहिले हामी घटनामा लोकबहादुर मात्रै नभएर अन्य व्यक्तिको पनि संलग्नता छ कि भनेर थप अनुसन्धान गरिरहेका छौँ । हाम्रो अनुसन्धान टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।’

साथै, अहिले अनुसन्धान जारी रहेकाले अनुसन्धान सकिएपछि मात्र सबै जानकारी दिने उनले बताए । हालसम्म करिब ५० जना स्थायीसँग सोधपुछ भएको डिएसपी सुवेली बताए ।

Post a Comment

Previous Post Next Post