सरोकारवालाले समयमै ध्यान नदिए यी युवतिको पनि सुजिताको जस्तै हाल हुनसक्ने पक्का

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

तर, अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनका पिता जयेश्वर सापकोटाले बताए । उनका बुवाले छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए ।

भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् । उनी बिनाको घरमा आउ–जाउ गर्दथे । नौ महिना जति बेलायत बसेका ती युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए ।

ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ । उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।

सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

‘केटीको घर मात्रै गैंडाकोट हो, घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान गरिरहेको छ’ खनालले भनिन्, ‘हामीले केटीको घरतिर र अन्य आसपासका ठाउँमा खोजी गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताए । उनले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताए । onlinekhabar.com

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post