गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय सरकारका खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झा ।
मन्त्री नियुक्त भएको तीन सातापछि गृहजिल्ला आएका झालाई लिन कार्यकर्ताहरू गाडीको लाइन लगाएर पुगेका थिए । रौतहट–बारा सीमाको धन्सार पुलबाट भारतीय नम्बर प्लेटका भाडाका गाडी लाइन लगाएर उनलाई गौरस्थित होटल सिया प्यालेससम्म पुर्याए । त्यहाँ गाडी पार्किङ गर्न हम्मेहम्मे पर्यो । जारी निषेधाज्ञाको बेवास्ता गर्दै सयौं गाडीको लाइनसँगै
बाटोमा कार्यकर्ता र शुभचिन्तकले स्वागतसमेत गरे ।
गौरस्थित होटल सिया प्यालेसमा मंगलबार दिउँसो स्वागत कार्यक्रम सकिन नपाउँदै सर्वोच्च अदालतले गत जेठ २१ र २९ माएको मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गरेको खबर आयो । स्वागत कार्यक्रममै उक्त खबर सुनेका कतिपय कार्यकर्ताले पत्याएनन् । धेरैले संघीय राजधानी काठमाडौंमा रहेका नेता, कार्यकर्ता र आफन्तलाई फोन गरे ।
यकिन भएलगत्तै पदमुक्त मन्त्री झा कार्यक्रम छोट्याएर तत्कालै राजधानी फर्किए । आउँदा सयौंको लावालस्कर लागेका उनका कार्यकर्ता मन्त्री पदमुक्त भएपछि एकएक गरेर फर्किएका थिए । कार्यक्रमस्थलबाट फर्कने बेलामा झाको लस्करमा सुरक्षाकर्मीको स्कर्टिङबाहेक अरू गाडी थिएनन् । ‘कार्यक्रम नसकिँदै सर्वोच्चले पदमुक्तको आदेश दिएको हल्ला आयो,’ कार्यक्रममा सहभागी जसपा कार्यकर्ता सरोज यादवले भने, ‘एकैछिन त के गर्ने कसो गर्ने भयो ।’