नयाँ शैक्षिक सत्र आजदेखि शुरू, भौतिक रुपमा कक्षा सञ्चालन तत्काल नहुने

काठमाडौं, असार १ । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ।

विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो।

कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने बताए। अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्नेछन्।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ। विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ।

विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने महानिर्देशक अर्यालले जानकारी दिए। यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश गरेको थियो।

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ। महानिर्देशक अर्यालले अवस्था सामान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिनका लागि सूचित गरिने उल्लेख गर्दै अहिलेलाई वैकल्पिक विधिकै माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको बताए।

अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरणलाई वैकल्पिक विधिका रूपमा लिइएको छ। विद्यालयले आफ्नो अवस्थाअनुसार बालबालिकाको सिकाइ सहजीकरण गर्नेछन्। गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post