काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंका १८०६, ललितपुरमा ६८१, मोरङमा ३२३, भक्तपुरमा २९८, रुपन्देहीमा २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीमा २५८, मकवानपुरमा २४२, सुनसरीमा २१८, स्याङजामा १९८ , नुवाकोटमा १९५, चितवनमा १७१, धनुषामा १५०, महोत्तरीमा १४१ र काभ्रेपलाञ्चोकमा १४० जना कोरोना संक्रमित थपिएका छन् ।
