भाइलाई पढाउन खलंगा लगेकी थिइन् अमिन एलिनाले, भूकम्पमा दिदीभाइ नै अस्ताए


शुक्रबार राति पश्चिम नेपालले अकल्पनीय झट्का बेहोर्‍यो। राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले सदरमुकाम खलंगा खण्डहरप्रायः छ।भूकम्पबाट जाजरकोटमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ।

भूकम्पमा परी दैलेख, दुल्लु नगरपालिका—६, छिउडीपुसाकोटका २५ वर्षीया एलिना भण्डारी र १० वर्षीय प्रज्ज्वल शाहीको पनि मृत्यु भएको छ।उनीहरूका नजिकका नातेदार पर्ने रूद्र शाहीका अनुसार मृतक भण्डारी पढाइमा विलक्षण थिइन्। एलिना रूद्रको फुपूकी छोरी हुन्। प्रज्ज्वल रूद्रको सालो पर्छन्।

अमरज्योति मोडल हाइस्कुल नेवारे सुर्खेतबाट उच्च शिक्षा पूरा गरेकी उनले गत वर्षमात्रै संघीय सरकार अन्तर्गतको अमिनमा नाम निकालेकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी हुन्।

उनको सानैदेखि सरकारी जागिर खाने, आत्मनिर्भर बन्ने धोको थियो। पढाइमा पनि त्यहीअनुसार मेहनत गर्थिन्। आफूमात्र नभई भाइबहिनीहरूलाई पनि पढाउने र आत्मनिर्भर बनाउने तीव्र चाहना उनीमा देखिन्थ्यो,’ नातेदार शाहीले सेतोपाटीसँग भने।

शाहीका अनुसार एलिना भण्डारी र प्रज्ज्वल शाही एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक/फरक बाबुका तर एकै आमाका सन्तान हुन्। एलिनाको बुवाको उनी दुई वर्षको हुँदा नै निधन भइसकेको छ। बुवाको निधनपछि र आमाले दोस्रो बिहे गरेपछि उनले केही समय मामाघर, सुर्खेतमा बसेर पनि अध्ययन गरेको शाहीले बताए।भाइ प्रज्ज्वल पनि सुर्खेतमा बसेर पढ्दै आएका थिए। पढाइमा असाध्यै दिलचस्पी तर दसैं-तिहार बिदामा हेरिदिने मानिस नभएकाले एलिनाले आफू पोस्टिङ भएकै ठाउँ अर्थात् जाजरकोट खलंगा लगेकी हुन्।

भाइलाई असाध्यै माया गर्थिन्। उनको रेखदेखमा विशेष ख्याल राख्ने एलिनाले दसैं-तिहार बिदामा पढाइ नबग्रियोस् भनेर आफूसँगै राखेर पढाउन जाजरकोट सदरमुकाम खलंगा लगेकी हुन्,’ नातेदार रूद्र शाहीले भने।

दसैं मनाउन गाउँ गएकी एलिना ५ दिनअघिमात्रै खलंगा (जाजरकोट सदरमुकाम) फर्किएकी हुन्। घरबाट आउजाउ गर्न गाह्रो भएकाले उनको बसोबास नापी खलंगामा नै रहेको शाहीले जानकारी दिए।सरकारी सेवामै रहँदै अध्ययनलाई अझ फराकिलो पार्ने र घरपरिवारप्रतिको उत्तरदायित्व पनि निभाउने त्यस्तो खालको सोच देखिन्थ्यो, दिदीभाइको निधनले सिंगो गाउँ नै शोकमय भएको छ,’ शाहीले भने।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post