भाइलाई गुमाएको सालको तिहार

तिमी जन्मेदेखि मलाई तिहार आएको थियो । हो, हरेक वर्ष तिहार आउनेछ, फूलहरू यसरी नै फुल्नेछन्, घरघरमा दियोहरू यसरी नै बल्नेछन् तर अब तिमी भाइटीका थाप्न हामीमाझ कहिल्यै आउनेछैनौ । कस्तो अकाट्य सत्य, तिमी निभ्यौ ? तर हाम्रो स्मृतिबाट कहिल्यै निभ्ने छैनौमेरा लागि जीवनको सबैभन्दा अमूल्य उपहार थियौ तिमी ।

तीन दिदीबहिनीपछिको एक मात्र भाइ तिमी । हाम्रो तिहार तिमी । हाम्रो खुसीको बहार तिमी । तिमी हाम्रा लागि सर्वस्व थियौ ।बाबा–आमाले दुई छोरी (म र सुशीला) जन्मिएपछि अब हामीलाई सन्तान पुगे भन्नुभएको थियो रे । तर हजुरबा–हजुरआमाले गाली गर्नुभएछ, ‘मेरो वंश अगाडि बढ्न नदिने भयौ तिमीहरूले ।

यसपछि बहिनी सुस्मिता र भाइ राजेशको जन्म भयो । भाइ मभन्दा सात वर्ष कान्छो थियो । मलाई उसको बाल्यकाल सबै थाहा छ । उसलाई हुर्काएको मैले हो, किनकि म घरकी जेठी छोरी थिएँ, त्यसमाथि म सानैदेखि भाइ भनेपछि हुरुक्क हुन्थेँ रे ।बुवाआमाले हाम्रो पालनपोषण र शिक्षादीक्षामा कुनै कमी गर्नुभएन ।

जे भन्यो त्यही पु¥याउनुभयो, हामीलाई अभावको महसुस हुन दिनुभएन । दुःखसुखका बीच हाम्रो ६ सदस्यीय परिवारमा शान्ति र सन्तुष्टि थियो । यही वर्षको असार १२ गते एकाएक हाम्रो पारिवारिक शान्ति र सन्तुष्टिरूपी सागरमा भयानक सुनामी आयो । मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय भाइ हामीमाझ रहेन ।

आँखामा राखेर हुर्काएको भाइ आँखाको डिलबाट बलिन्द्र धारा बनेर बग्यो, बगिररहेछ ।आमाको काख रित्तो भयो, बाबाका सपना चकनाचुर भए । हामी तीन दिदीबहिनीको माइती नै टुङ्गियो ।

त्यो जति ठूलो पीडा जीवनमा के नै हुन सक्ला र !भाइ, तिमीले हामीलाई छाडेपछि हामी पाँचजनाले जीवन कसरी अगाडि बढाएका छौँ, त्यो हामीबाहेक कसलाई पो थाहा होला र ! आखिर जीवन के नै रहेछ । दुई दिनको घामछाया भन्थे, साँच्चै हो रहेछ । बाचुन्जेल लोभ–लाभ, माया–ममता, मरेपछि खरानी । बाबु ! आज तिमीबिना हाम्रो दियो निभेको छ ।

मेरा सुखदुःखमा तिमीले मलाई सधैँ हिम्मत दिन्थ्यौ । केही कुरामा मेरो मन दुख्दा तिमी पनि मसँगै दुख्थ्यौ । तिमीलाई चोट लाग्दा मलाई दुख्थ्यो । स–साना खुसीमा हामी सँगै हाँस्थ्यौ । यी सबै सम्झेर अनायसै आँसु बग्न थाल्छन्, तर जेठी छोरी भएकीले आज रुन पनि मैले एकपटक सोच्नुपर्छ ।

किनकि म रोएँ भनेँ बाबा, ममी, सुशीला र सुस्मिता के गर्लान् भन्ने सोच आउँछ । बाबु ! तिम्रो याद नआएको मेरो कुनै पल छैन सायद तर तिम्रो लागि मैले कहिल्यै परिवारको अगाडि आँसु झारेकी छैन । जिम्मेवारी भन्ने जिनिसले आँसुलाई पनि तौलने रहेछ ।

मेरो ठाउँमा तिमी भएको भए पनि यही गथ्र्यौ ।तिम्रो अभाव हामीलाई जीवनभर रहने नै छ, तर बाबा–आमालाई तिम्रो अभाव महसुस हुन नदिन मैले के कस्तो जिम्मेवारी लिनुपर्छ भन्ने चिन्ता पनि ममा सधैँ रहनेछ, रहिरहेको छ । हामी तीनै दिदीबहिनीको भावना यही छ । अब हामी तीन दिदी–बहिनी हिम्मत हारेर होइन, हिम्मत राखेर अगाडि बढ्नु छ । हामीले अब बाबाआमाका लागि भाइको पनि जिम्मेवारी निर्वाह गर्नु छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post