दशैँ मनाउन गएकी ईशा त भाग्यले बाँचिन तर संगै सुतेका ३ दिदी बहिनी अस्ताए


दसैँ मनाउन जाजरकोट पुगेकी बाँके, बानियाभार निवासी २२ वर्षिया ईशा शाहले भूकम्पमा परिएला भन्ने कल्पना नै गरेकी थिइनन्। काठमाडौँमा स्नातक अध्ययन गर्ने उनी जाजरकोट गएर मामा, ठुलीआमा र सानी आमाका घरमा चाडपर्वको रमझममा थिइन्। विनाशकारी भूकम्प आएर सानी आमाको घर भत्किँदा उनी भाग्यले बाँचिन्।

तर, सँगै सुतेका ३ जना दिदी बहिनीलाई आफ्नै आँखा अगाडी गुमाउनु पर्दाको पीडा अहिले पनि उनले भुल्न सकेकी छैनन्।ईसासँगै सुतेका दिदी बहिनी(सानी आमा र ठुली आमाकी छोरी) मेरिना आरसी, उर्जा सिंह र उपास्ना सिंहको घरले च्यापिएर मृत्यु भयो। भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेकी ईशालाई त्यो कहाली लाग्दो घटनाले बेला बेलामा झस्काइरहन्छ।

हामी रातको ११ बजेतिर घरको माथिल्लो तलामा सुतेका थियौँ, एक्कासि हल्लायो, म उठ्नै लागेको थिए, खै म फेन्ट भए, अनि आँखा खोल्दाखेरी म च्यापिएको थिए,’ उनले भनिन्, ‘छत खसेको रहेछ, अनि म कराएँ, उनीहरुलाई बोलाउन खोजे, कसैले जवाफ दिएनन्, पछि प्रहरी र आर्मीले थाहा पाए होलान्, उहाँहरूले उद्धार गर्नुभयो।

आफू घरभित्र च्यापिएको करिब डेढ घण्टापछि उद्धार भएको ईशाले सुनाइन्। उनले अगाडी थपिन्, ‘कराउँदा कराउँदै घाँटी सुक्यो, आवाज निस्कन छोड्यो।’ भूकम्प आएको दिन उनी ठुली आमाको छोरीसहित सानीआमाको घरमा बस्न गएकी थिइन्।

ढुङ्गा, सिमेन्ट र माटोले बनेको दुई तल्ले घरको एउटा छेउ भत्कियो। जुन ठाउँ भत्कियो, त्यही कोठामा ४ जना दिदीबहिनीहरू गफगाफ गरेर सुतेका थिए। तर, सोही तल्लाको अर्को कोठामा सुतेका सानी आमालाई भने चोट लागेन। ‘म र सानो बहिनी एउटा खाटमा सुतेका थियौँ, दुई दिज्युहरु तल सुत्नु भएको थियो, आँखा खोल्दा खेरी म ठ्याक्कै बिचमा थिए 

मैले हातले बहिनीको मुख समाते, बहिनीले एक पटक मात्रै दिज्यू भनेको सुनेको थिए, बोलाउँदा बोलिनन्,’ ईशाले भनिन् ‘अन्टीहरु अर्को कोठामा सुत्नु भएको थियो, हामी बाहिर पट्टीको कोठामा सुतेका थियौँ, हामी सुतेको कोठाको मात्रै छत खसेको रहेछ।

घाइते ईशाको शरीरमा चोट छ, तर खतरामुक्त छिन्। जाजरकोटमा सामान्य उपचार मात्रै गरेर शनिवार बिहान पख ३ बजेतिर गाडी रिर्जब गरेर उनका मामाले भेरी अस्पतालमा ल्याएका हुन्। ‘यहाँ आएपछि सिटी स्क्यान गरियो, औषधी चढायो, घाटीमा चोट लागेको हुँदा बोल्दा अप्ठ्यारो हुन्छ,’ ईशाले भनिन्। नागरिक दैनिक बाट



Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post