फोनमा छोरीहरूले कपडा र स्याउ ल्याइदिनू भन्थे, बाबाले अन्तिम बिदाइ समेत गर्न पाएनन्

जाजरकोट कुशे गाउँपालिका-१ धाउनीका वीरबहादुर सिंहकी छोरी सुस्मिता गत जेठमा साढे २ वर्ष पुगेकी थिइन्। शैक्षिक वर्ष सुरू भएसँगै सुस्मितालाई विद्यालयमा भर्ना पनि गरिएको थियो।

कान्छी छोरी निर्जला ६ महिना मात्रै पुगेकी थिइन्। त्यहीबेला सुस्मिता र निर्जलाका २८ वर्षीय बुवा वीरबहादुर परिवारको लागि खर्च जुटाउन गत जेठमा कालापहाड हानिए। रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेश पुगेका उनी फुर्सदमा घरमा श्रीमतीलाई फोन गर्थे, भिडिओ कलमा दुई छोरीसँग कुराकानी गर्थे।

भर्खरै बोल्न थालेकी छोरी सुस्मिता भन्ने गर्थिन्, ‘घर आउँदा मलाई र बहिनीलाई कपडा ल्याइदिनु, स्याउ पनि ल्याइदिनु।’वीरबहादुर खर्च जुटाएर उनी यही दसैंमा घर फर्किने योजनामा थिए। त्यसैबीच उनले मंगलबार बिहानै नमिठो खबर पाए। भर्खरका दुई छोरीको मृत्यु भएको खबर उनले पाएका थिए।सोमबार दिउँसो गाउँमा अरिंगालले टोकेर दुबै छोरीको मृत्यु भएको हो।

यो खबरपछि वीरबहादुर जाजरकोटका लागि हिँडिसकेका छन्।कुशे–१ का वडा सदस्य प्रदीप चलाउनेका अनुसार वीरबहादुर उनका दाजुसँग नेपाल फर्किइरहेका छन्। दाइले वीरबहादुरलाई सम्हाल्ने प्रयास गरिरहेका छन्।

उहाँलाई हामीले खबर गर्नेबित्तिकै हिँडिसक्नुभयो, केही बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ,’ वडा सदस्य चलाउनेले भने, ‘साथमा उहाँको दाइ पनि भएकाले सम्हालिरहनुभएको होला, हिमाञ्चलको पनि विकट क्षेत्रबाट आउनुपर्ने भएकाले अझै घर पुग्न तीन-चार दिन लाग्छ होला।

मृत्युको खबर सुनेर घर फर्किए पनि वीरबहादुरले छोरीहरूलाई अन्तिम बिदाइ गर्न भने पाएनन्। सुस्मिता र निर्जलाको दाहसंस्कार मंगलबार बिहान नै गरिसकिएको छ।छोरीहरूको मृत्यु भएपछि आमा पनि अचेत जस्तै रहेको वडा सदस्य चलाउनेले बताए।

यहाँ घरमा पनि बालिकाकी आमा बोल्न सक्ने अवस्थामै हुनुहुन्न, उहाँका माइतीबाट पनि आइसक्नुभएको छ,’ उनले भने। सुस्मिता र निर्जलाकी आमाको माइती छेडागाड नगरपालिका–७ पैराम हो।अरिंगालको टोकाइबाट वीरबहादुरकी आमा बिजुली सिंह पनि घाइते छिन्। उनको अवस्था मध्यम रहेको वडा सदस्य चलाउनेले बताए।

बिजुली महिला स्वास्थ्य स्वयमसेविका पनि हुन्।सोमबार दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा हजुरआमाले नातिनीहरूलाई लिएर जाँदै थिइन्। उनले कान्छी नातिनीलाई पिठ्युँमा बोकेकी थिइन् भने जेठीलाई हात समातेर हिँडिरहेकी थिइन्।

एक्कासि अरिंगालको झुण्डले तीनै जनामाथि आक्रमण गरेको थियो। अरिंगालले टोकेपछि बेहोस अवस्थामा भएकी सुस्मिताको सोमबार साँझ ५ बजे घरमै मृत्यु भएको थियो। निर्जलाको उपचारका लागि राति ११ बजे छेडागाड नगरपालिका थलह बजार लगिएको थियो। तर उनको पनि बाटोमै मृत्यु भयो।

समयमै खबर नहुँदा दुई बालिका मृत्युको मुखमा पुग्नुपरेको वडा सदस्य प्रदीप चलाउनेले बताए।अहिलेको समयमा हेलिकप्टरको सुविधा पनि छ, अत्यावश्यक पर्दा र मौसमले साथ दिएमा तत्काल उद्धार गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर घरमै उपचार गर्न खोजिएछ, हामीलाई राति १० बजे मात्र खबर भयो।’जनप्रतिनिधिहरूलाई राति मात्रै घटनाबारे खबर पुगेपछि निर्जलालाई अस्पताल लगिएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post