लक्ष्मीपूजाकै दिन दुई लक्ष्मीलाई चितामा राखेर जलाउनु परेपछि शोकमा डुब्यो गाउँ, अधुरै रह्यो भाइटिका लगाउने सपना….


दाङको दंगीशरण गाउँपालिका-२ का २२ वर्षीय कृष्ण शाह रूपन्देहीको बुटवलस्थित कृषि सहकारी संस्थामा कार्यरत छन्। तिहार आइसकेकाले कृष्णकी १६ वर्षीया बहिनी रमाले उनलाई छिट्टै आउन भनेकी थिइन्। आमाबुवाका उनीहरू दुई सन्तान मात्र हुन्। कृष्ण अविवाहित छन्।

बहिनी रमासँग टीका लगाउने उत्साहसहित कृष्ण गाउँ फर्किएका थिए। गाउँले साथीभाइसँगको भेटघाट र रमाइलो त छँदै थियो। देउसी-भैलोको पनि तयारी हुँदै थियो।

कात्तिक २ गते सल्यानबाट १६ वर्षीया गंगा चन्द र उनका भाइ पनि रमाको घरमा आए। गंगा कृष्णकी भतिजी पर्छिन्। रमा र गंगा नातेदार भए पनि मिल्ने साथीको जस्तो सम्बन्ध थियो। बसाइ सर्नुअघि दुवै जना एकै विद्यालय पढ्थे। सरेपछि भने आफ्नै ठाउँका स्थानीय विद्यालयमा कक्षा १० मा पढिरहेका थिए।गंगाहरूको यसपालि भाइटीका थिएन। ६ महिनाअगाडि मात्रै गंगा र उनका भाइले आमा गुमाएका थिए। चाडवाडमा नियास्रो नहोस् भनेर उनीहरू रमाको घर आएका थिए। भेटपछि दुवै निकै खुसी थिए। सँगै गाउँ डुल्थे, रमाउँथे।

गत कात्तिक ५ गते पनि उनीहरू दुई जना र गंगाका भाइ बाख्रा चराउन बबई नदी किनार पुगेका थिए। त्यही समयमा रमाकी आमा गीता पनि बबई नदीमा लुगा धुन गएकी थिइन्। शनिबारको दिन, दिउँसो १२ बज्दै थियो। नदी किनार गर्मी चर्कियो। रमा, गंगा र रमाकी गाउँकै साथी पुष्पा बस्नेतले बबईमा डुबल्की मार्ने सोचे।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा र दंगीशरण–२ को गोलटाकुरी गाउँको सिमानामा पर्ने सिमलकुनाघाट नजिकै बबई नदीको एउटा सानो भँगालोमा उनीहरू नुहाउन पसे। रमाकी आमा गीता आफ्नै धुनमा लुगा धुन व्यस्त थिइन्। गंगाका भाइ सानै भएकाले किनारबाटै दिदीहरूको रमाइलो हेर्दै थिए।

सानो भँगालोमा रमाउँदा रमाउँदै तीनै जना ठूलो भँगालोमा पुगे। गाईवस्तु चराउन त्यतै पुगेका गाउँकै मनिष चौधरीले एक्कासि पुष्पा डुब्दै, उत्रिँदै आत्तिएर हातखुट्टा चलाउँदै, कराउँदै गुहार मागिरहेकी देखे। मनिष दौडिएर पुगे र बग्दै गरेकी पुष्पाको‍ उद्धार गरेर बचाउन सफल भए।

सुरूमा तीन जना नदीमा नुहाउन पसेको मनिषले देखेका थिए। पुष्पालाई बचाए पनि गंगा र रमालाई उनले पानीमा देखेनन्। अरू प्रत्यक्षदर्शीका अनुसार ठूलो भँगालोमा पुगेपछि रमा र गंगा डुब्न थाले। त्यसक्रममा उनीहरूले बच्ने आशमा एकअर्कालाई च्याप्पै समातेका थिए। रमाको खुट्टा गंगाले समातेकी थिइन्। तर दुवै जना एकै पलमा डुबे।गंगाका भाइले नदीको किनारबाट हेर्दाहेर्दै एक मिनेटमै उनीहरू अलप भए। बबईले बगायो। भाइ चिच्याउँदै रमाकी आमा गीतासम्म पुगे। रमा र गंगा डुबेर बेपत्ता भएको देखेर गीताको होसहवास उड्यो।

पाँच-सात मिनेटसम्म त निस्किहाल्छन् कि भन्ने आशमा बेचैन हुँदै प्रतीक्षा गरे। मनिष र अरूहरू पनि के गर्ने, कसो गर्ने मेलो नपाएर सोच्दै यताउता दौडधुप गर्न थाले। कुरा गाउँसम्म पुग्यो।

कृष्णले बहिनी रमा र भतिजी गंगा डुबेर बेपत्ता भएको खबर दस मिनेटभित्रै पाए। उनी लगायत खबर पाउने जति सबै दौडिएर बबई किनारमा आए। डुबेको स्थानदेखि तलमाथि जताततै हेरे, खोजे। उनीहरू फेला परेनन्।

त्यसपछि आसपासका गाउँ र छिमेकलाई जानकारी दिए। उनीहरूले प्रहरी प्रशासनलाई खबर गरे। स्थानीय गाउँले, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर खोजी सुरू भयो। बेलुका अबेरसम्म खोज्दा पनि दुई किशोरी कतै फेला परेनन्।

खबर आसपासका गाउँमा फैलियो। धान काट्ने चटारो भए पनि स्थानीय किसानहरू काम रोकेर खोजीमा खटिए। देउसी-भैलोको तयारी गर्दै गरेकाहरू पनि खोजी र उद्धारमा आए। गंगा र रमा डुबेको ठाउँ र त्यसदेखि पाँच-सात किलोमिटर उत्तर दक्षिणमा स्थानीय पौडिबाजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका पौडी खेल्न जान्नेहरूले खोजिसकेका थिए।

रमा र गंगा डुबेको २४ घन्टा बितिसक्दा पनि फेला पर्न सकेका थिएनन्। बाँके र दाङको भालुवाङबाट सशस्त्र प्रहरीका गोताखोर बोलाउने अन्तिम तयारी प्रहरी प्रशासनले गरिरहेको थियो। उनीहरूलाई जीवितै पाउने आश घरपरिवारले मारिसकेका थिए।

कात्तिक ६ गते बिहानैदेखि उनीहरूको खोजी थालियो। दिउँसो साढे तीन बजेतिर बबई उत्तरको तुलसीपुर–११ बेलटाकुरा गाउँका तेजबहादुर चन्दले उनीहरू डुबेकै ठाउँमा डुबुल्की लगाए। उनले निकै गहिराइबाट रमाको शव निकाल्दा त्यहाँ भएका सबै स्तब्ध भए।गंगाको शव पनि निस्कियो। ‘मैले फेला पार्दा दुई दिदीबहिनी पानीमुनि एकअर्कालाई च्याप्प समातेकै अवस्थामा थिए,’ तेजबहादुरले भने।

गाउँमा सन्नाटा छायो। उनीहरूको शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो। काग तिहारको दिन, साँझ अबेर भइसकेकाले पोस्टमर्टम हुन सकेन। लक्ष्मीपूजाको दिन, सोमबार बिहानै पोस्टमर्टम पूरा भएपछि आफन्तले शव बुझे। उनीहरू जुन स्थानमा डुबेका थिए, दुवैको शव त्यहीँ लगियो। रमा र गंगाको सँगै अन्त्येष्टि भयो।

आफन्त र स्थानीयका आँखा आँशुले भरिएका थिए। एक स्थानीयले आँशु पुछ्दै भने, ‘यो कस्तो कल्पना नगरेकै दिन आइलाग्यो। आज लक्ष्मीपूजाको दिन दुई लक्ष्मीलाई चितामा राखेर जलाउनुपर्‍यो।’

बहिनी गुमाउँदा दाजु कृष्णको मन फुट्नै लागेको छ। बाख्रा चराउन नदीतिर आउनुअघि रमाले आफूलाई भाइटीकाको किनमेलका लागि तुलसीपुर बजार लैजान आग्रह गरेको सम्झिए।

भोलि भाइटीकाका लागि किनमेलका लागि हजुर र म सँगै बजार जाम्ला है दादा भनेकी थिई,’ कृष्णले भक्कानिँदै भने, ‘मलाई नयाँ कपडा किन्दिनुपर्छ भन्दै थिई। नयाँ कपडा लगाउने र मेरो निधारमा सप्तरंगी टीका लगाइदिँदै दिर्घायुको कामना गर्ने उसको सपना अधुरै रह्यो।’रमाले भाइटीकाका लागि भनेर आँगनमा रोपेको सयपत्री फूल यतिखेर ढकमक्क फूलेको छ। बहिनी गुमाएपछि ती फूल देख्दा पनि नरमाइलो लागेको उनले बताए।

‘बहिनी र भतिजीलाई बबईले निलेपछि आँगनमा फूलेका सयपत्री देख्दा पनि रिस मात्रै उठ्छ,’ उनले भने, ‘मेरो एक्ली बहिनीलाई यति छिट्टै गुमाउनु पर्ला भनेर कहिल्यै कल्पना गरेको थिइनँ।’

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post