दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा बाटोमै जन्मियो मृत बच्चा !

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे।

निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे ।

खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो ।भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।

अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड््कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए ।

मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो ।

दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post