अछाम : पहिरोमा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।

पहिरोमा परि ज्यान गुमाएकाकाे जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताउनुभयो ।

अछामकाे कमलबजार नगरपालिका ६ विपथमा सात, वडा नम्बर ८ ढाँकुमा पाँच, तुर्माखाँद गाउँपालिका ५ नाडामा नाै, ढकारी गाउँपालिका ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अहिले पनि क्षतिकाे विवरण सङ्कलन कार्य भइरहेकाे डीएसपी डाँगीको भनाइ छ ।

पालिकाले जथाभाबी सडक खन्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका सबै ठाउँमा सडक नै प्रमुख कारण रहेको पाइएको छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।

यसैबीच पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन थालेका छन् । पहिराेका कारण सडक बन्द भएपछि घटनास्थलसम्म जानसमेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताउनुभयो । पहिरोमा परि घाइते भएका ११ जनामध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post